स्थानीय तहमा रास्वपाको पहिलो जनप्रतिनिधि बनिन् रोजिना


काठमाडौं— काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा भएको उपचुनावको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हात पारेको छ । पहिलोपटक पटक स्थानीय तहको निर्वाचनमा होमिएको रास्वपाको स्थानीय तहमा यो पहिलो जीत बनेको छ।

निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ २ हजार ९ सय २ मतसहित विजयी भएकी हुन् । दोस्रो स्थानमा रहेका एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत प्राप्त गरेका छन्। त्यस्तै २ हजार २ सय १४ मतसहित कांग्रेसका देवेन्द्र पाठक तेस्रो स्थानमा छन्। नेकपा एकीकृत समाजवादी का मीनबहादुर मानन्धरले १ हजार ९२ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार श्यामकृष्ण श्रेष्ठले ७ सय ७४ मत पाए । काठमाडौं–१६ मा १० हजार ५ सय ५८ मत खसेको थियो भने १ सय ८० मत बदर भएको छ ।

२०७९ को स्थानीय चुनावमा कांग्रेसबाट वडाध्यक्षमा विजयी मुकुन्द रिजालको मृत्यु भएपछि काठमाडौं–१६ मा उपनिर्वाचन भएको हो ।