बेलाका–९ मा बदर पुन मत गणना सुरु गर्न अझै जुटेन सहमति


काठमाडौं– उदयपुरको बेलका नगरपालिका वडा नं ९ को मतगणना कार्य अझै शुरु हुन सकेको छैन । राति एक बजे रोकिएको मत गणना अहिलेसम्म शुरु हुन नसकेको हो ।

निर्वाचन अधिकृत मनोजप्रसाद गुप्ताका अनुसार सोमबार राती १ बजेसम्म यहाँ ५०० मतगणना गरिएको थियो । जसमा २२० मत बदर भेट्टिएपछि विवाद उत्पन्न भएको छ। बदर मत अत्यधिक भएकोबारे सर्वदलीय बैठक बसेको थियो । तर, उक्त बैठकले कुनै निश्कर्ष निकाल्न सकेको छैन ।

हालसम्म गणना भएको मत अनुसार नेकपा एमालेका मोहन खड्काले ८५ मत पाएर अग्रस्थानमा छन् भने नेकपा माओवादी केन्द्रका भरत घिमिरेले ८० मत पाएर खड्कालाई पछ्याइरहेका छन् । नेपाली कांग्रेसका नवराज बस्नेतले ६२ मत पाएका छन् । तीन हजार १६७ मतदाता रहेको यस वडामा एक हजार ८८५ मत खसेको थियो ।

नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पदम खड्काको मोटरसाइकल दुर्घटनामा परेर निधन भएपछि बेलका–९ मा उपनिर्वाचन भएको हो ।