‘माग्ने बुढा’को बढ्दो माग


कलाकार केदार घिमिरे ‘माग्ने बुढा’लाई लाग्दै आएको एउटा आरोप थियो, उनी दीपकराज गिरी र दीपाश्री निरौलाको टिम भन्दा बाहिरको फिल्ममा काम गर्न सक्दैनन् । यो आरोप उनलाई उनकै सहकर्मी कलाकार जितु नेपालले पनि सार्वजनिक रुपमा नै लगाए ।

तर, अहिले नेपाली फिल्ममा केदारको माग उच्च छ । केदारले फिल्ममा काम गरेवापत पारिश्रमिक पनि महंगो लिने गरेका छन् । वुझिएअनुसार, उनले एउटै फिल्ममा ५० लाखसम्मको पारिश्रमिक लिने गरेका छन् । तर, पनि उनलाई ‘छक्का पन्जा’को टिम भन्दा बाहिरको व्यानरमा अफरको ओइरो छ ।

उनी, हाल फिल्म ‘जेरीः अन टप’को छायांकनमा व्यस्त छन् । यो फिल्मसँगै उनले फिल्म ‘कंगारु’ पनि साइन गरेका थिए । तर, यो फिल्मको छायांकन कहिलेबाट सुरु हुन्छ अत्तोपत्तो छैन ।

यता, केदारले ऋषि लामिछानेको निर्देशन तथा मुनाल घिमिरेको निर्माणमा बन्न लागेको फिल्म पनि साइन गरिसकेका छन् । अब, केदार रोहित अधिकारीको निर्माणमा बन्न लागेको फिल्म ‘माइतीघर’मा पनि काम गर्दैछन् । यसरीहेर्दा, केदारको हातमा फिल्मको लाइनअप लामो देखिएको छ । उनले, दीपक–दीपासँग वर्षमा एउटा फिल्ममा काम गर्दै आएका छन् । यो टिमले अर्को बर्षका लागि पनि एउटा फिल्म बनाउने बताइसकेको छ ।