काठमाडौं– रोल्पामा घुससहित एक प्रहरी अधिकारी पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (सई) ललित कुमार बुढाथोकी घुस रकमसहित पक्राउ परेका हुन् । उनीसँग २५ हजार रुपैयाँ घुस रकम फेला परेको छ ।
सवारी साधनहरूलाई आवत–जावत गर्न सहजीकरण गरिदिए बापत घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुढाथोकीलाई सोमबार पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उक्त रकमसहित उनलाई रोल्पा नगरपालिका वडा नम्बर ४ स्थित निवासबाट नियन्त्रणमा लिइएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया