काठमाडौँ– भारतीय सुपरस्टारहरू अल्लू अर्जुन र रश्मिका मन्दाना अभिनीत भारतीय चलचित्र पुष्पा २ द रुल ले एडभान्स बुकिङमा नयाँ इतिहास रच्दै यसअघिका लोकप्रिय चलचित्रहरूलाई पछि पारेको हो । यही बिहीबार रिलिज हुने यो चलचित्रको एडभान्स बुकिङ ३० नोभेम्बर राति १२ बजेबाट सुरु भएको थियो ।
भारतीय मिडियाहरूका अनुसार एडभान्स बुकिङको पहिलो २४ घण्टामा चलचित्रका ३ लाखभन्दा बढी टिकट बिक्री भएको छ। भारतभरि चलचित्रले एडभान्स बुकिङबाट १२ करोड रुपैयाँ भन्दा बढीको कमाई गरेको छ । यसले शाहरुख खानको (पठान) र यशको (केजिएफ २) जस्ता ब्लकबस्टर चलचित्रहरूको रेकर्डलाई तोडेको छ ।
पुष्पा २ को हिन्दी संस्करणमा पहिलो दिन १.८ लाख टिकट बिक्री भइसकेका छन्, जुन केजिएफ २ का पहिलो दिनका १.२५ लाख टिकटभन्दा धेरै रहेको छ ।
भारतीय ट्रेड एनालिस्टहरूका अनुसार, पुष्पा २ ले पहिलो दिनमै घरेलु बक्स अफिसमा २०० करोड रुपैयाँभन्दा बढी कमाई गर्न सक्ने अनुमान गरिएको छ । यसअघि बाहुबली र ‘केजिएफ २ ले एडभान्स बुकिङमा क्रमशः ९० करोड र ८० करोड कमाएका थिए ।
सुकुमार निर्देशित यो चलचित्र तमिल, तेलुगु, मलयालम, कन्नड, र हिन्दी गरी पाँच भाषामा रिलिज हुने भएको छ । सन् २०२१ मा रिलिज भएको पुष्पा द राइज को सफलतापछि यो चलचित्रले बलिउडदेखि दक्षिण भारतीय सिनेमा उद्योगसम्म ठुलै हलचल मच्चाएको छ ।
यो चलचित्रको नेपालको लागि पनि चलचित्र हलहरूले बुकिङ खुलाइसकेको छ ।
प्रतिक्रिया