सिके राउतले मागे सभामुख देवराज घिमिरेको राजीनामा


काठमाडौं– सिके राउत नेतृत्वको जनमत पार्टीले सभामुख देवराज घिमिरेको राजीनामा मागेको छ । पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले आज एक विज्ञप्ती जारी गर्दै सभामुख घिमिरेले पार्टीले कारबाही सिफारिश गरेकोमा कारबाही नगरेकोमा जनमत पार्टी असन्तुष्ट थियो ।

यादवले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘कोही प्रतिनिधिसभा सदस्य सभामुखको नातेदार र समूदायको मान्छे पर्यो भन्दैमा र सभामुखको पूर्व पार्टी नेकपा (एमाले) मा जाने वचनवद्धता गर्यो भन्दैमा जनमत पार्टीको केन्द्रीय समितिले सम्पूर्ण प्रक्रिया पुर्याई कारबाही सदर गरिसकेको सदस्यलाई यसरी गैरसंवैधानिक कदमद्धारा रक्षा गर्ने सभामुखले अविलम्ब राजीनामा दिनुपर्छ ।’

जनमत पार्टीले आफ्नै पार्टीकी सांसद गोमा लाभ सापकोटालाई सांसद पदबाट हटाउन सभामुखलाई पटक पटक पत्राचार गरेको थियो । तर सभामुख घिमिरेले सापकोटाले पद नै जाने प्रकृतिको कुनै काम गरेको नदेखिएकाले हटाउन नमिल्ने भन्दै सांसद पदबाट नहटाउने निर्णय गरेका थिए । सो निर्णययता नै सिके राउत र समाभुखबीचको सम्बन्धमा दरार आएको छ ।