काठमाडौंमा रवि लामिछानेको बयान लिने काम सक्कियो, भोली पोखरा लगिँदै


काठमाडौं– कालिमाटीको स्वर्णलक्ष्मी सहकारी रकम अपचलन मुद्दामा अनुसन्धानका लागि पोखराबाट काठमाडौं ल्याइएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ ।

पोखराबाट बिहीबार राति ल्याइएको लामिछानेको शुक्रबारदेखि काठमाडौंस्थित जिल्ला सरकारी वकिल कार्यालयमा लिइएको थियो । शुक्रबार बयान लिने क्रम नसक्किएपछि आइतबार र सोमबार पनि उनको बयान लिइएको छ । आज भने रविको बयान लिने काम सक्किएको छ । अब उनले दिएको बयानको पुनः अध्ययन र बयान कागजमा सहीछाप गरेपछि प्रहरी परिसर पठाउने तयारी भएको जिल्ला सरकारी वकिलको कार्यालय, भद्रकालीका प्रमुख सहमहान्यायाधिवक्ता सन्देश श्रेष्ठले बताए ।

आज बयान सक्किएपछि भोली रविलाई पोखरा पठाउने प्रहरीको तयारी छ । विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचल गरेको सहकारी छानबिन समितिको निष्कर्शपछि लामिछाने गत कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको मूल्यालयबाट पक्राउ परेका थिए । उनीविरुद्ध कास्की, काठमाडौंका साथै रुपन्देही र चितवनमा पनि सहकारी रकम अपचल गरेको मुद्दा छ । काठमाडौं ल्याउनुअघि उनको बयान लिन रुपन्देही लगिएको थियो भने काठमाडौंबाट पोखरा लगेर उनलाई पुन थप बयानका लागि चितवन लगिनेछ ।

यस्तै पर्सा जिल्ला प्रहरीले पनि रविसहित जीवी राई, र पूर्वडिआइजी छविलाल बन्जाडे जोशीविरुद्ध मुद्दा चलाउन अदालतसँग अनुमति मागेको छ ।