बाजुराको स्वामीकार्तिक खापरमा एमालेबाट सुलोचनाकुमारी विजयी


काठमाडौं– बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीलाई २६६ मतले पराजित गर्दै बुढा विजयी भएकी हुन् ।

बुढाले एक हजार ७४० मत प्राप्त गरेकी छन् भने कांग्रेसकी शाहीले एक हजार ४७४ मत पाइन् । यस्तै नेकपा एकीकृत समाजवादीकी जवा शाहीले पाँच सय ५३ मत प्राप्त गरेकी छन् ।

कुल सात हजार ४६० मतदाता रहेको स्वामीकार्तिक खापर गाउँपालिकामा आइतबार भएको उपनिर्वाचनमा तीन हजार ९०३ मत खसेको थियो ।

२०७९ सालको निर्वाचनमा विजयी कांग्रेसकी मैनादेवी जोशीको निधन भएपछि स्वामीकार्तिकमा उपनिर्वाचन भएको हो ।