चितवनमा बयानका लागि सरकारी वकिल कार्यालयमा, बाहिर समर्थकको प्रदर्शन


काठमाडौं– सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा बयान लिनका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चितवन लगिएको छ । उनलाई मंगलबार काठमाडौंबाट चितवन लगिएको हो ।

चितवन पुर्‍याइएलगत्तै बयानका निम्ति लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालयमा लगिएको छ ।

सहारा चितवन सहकारीको रकम अपचलनको विषयमा अनुसन्धानका लागि रविलाई त्यहाँ लगिएको हो । उक्त सहकारीबाट ४२ करोड रुपैयाँ पाँच कम्पनीमा लगिएको प्रहरीले जनाएको छ ।

हिनामिना भएको रकममध्ये १० करोड ८० लाख रुपैयाँ रवि तत्कालिन प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको प्रहरीले जनाएको छ ।

उता लामिछानेलाई चितवन पुर्‍याउँदा समर्थक विमानस्थलबाहिर पुगेर नाराबाजी गरेपछि प्रहरीसँग उनीहरूको धकेलाधकेलसमेत भएको थियो । चिवतनमा सुरक्षाका निम्ति भरतपुर विमानस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

सहारा सहकारीको रकम अपचलनका विषयमा पीडितले मंसिर ५ गते रास्वपा सभापति लामिछानेसहित १० जनाविरुद्ध पूरक जाहेरी दिएका थिए । मंसिर ७ गते चितवनमा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।