नायिका प्रियंका कार्की र दीया मास्केको फरक अवतार प्रस्तुत गर्दै फिल्म ‘ममी’को फस्टलुक र प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यो फिल्मलाई माघको २५ गतेबाट रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरेको हो ।
सार्वजनिक पोष्टरमा दीया मास्केको डरलाग्दो गेटअप छ । उनको अनुहार भरी रगत नै रगत देख्न सकिन्छ । प्रियंका भने गम्भीर रुपमा देखिएकी छिन् ।
यो फिल्मले एक परिवारकी छोरी र कुकुरको दुःखद निधनपछि रहस्यमय कालो बिरालो अपनाएसँगै निम्तने विपत्तीलाई देखाउने छ । एसओ ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्ममा सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाल लगायतका कलाकारहरुको अभिनय छ । फिल्ममा समर निरौलाको लेखन तथा निर्देशन छ ।
लोकराज जोशी र पूर्णिमा जोशीको लगानीमा निर्माण भएको फिल्ममा सुमन कोइराला कार्यकारी निर्माताको रुपमा छन् । शरद महत्तोको छायांकन रहेको यो फिल्मलाई काठमाडौंमा काफिया फिल्मस् र मोफसलमा कुवेर फिल्मस्ले वितरण गर्नेछ ।
प्रतिक्रिया