नरेश भट्टले ममताको हत्या गरेर शव लुकाएको आरोपमा अदालतमा बहस हुँदै


काठमाडौं– अमेरिकामा बेपत्ता भएकी नेपाली चेली ममता काफ्लेको शव लुकाएको आरोप लागेका श्रीमान नरेश भट्टमाथी अब अदालतमा बहस हुने भएको छ । यसअघि शव लुकाएको अभियोग लगाइएका नरेशमाथी ममताको हत्या गरेर शव लुकाएको मुद्दामा अदालतमा बहस हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

सोमबार नरेशमाथि हत्या र शव लुकाएको अभियोग लागाइएको छ । उक्त बहसमा ममताकी आमा गीता पनि अदालतमा उपस्थित थिइन् । भूतपूर्व सैनिकसमेत रहेका ३७ वर्षीय नरेशले श्रीमती ममताको हत्या गत ३० जुलाईतिर गरेको मानसास पार्क प्रहरीको भनाइ छ ।

प्रहरीले ममताको कोठामा फेला परेको रगतको डीएनए जाँच गराउँदा उक्त रगत ममताको नै रहेको पुष्टि भइसकेको जनाएको छ । नरेशले नै हत्या गरेको शंका पहिल्यैदेखी भएपनि हाल भने यसलाई प्रमाणित गर्ने आधारहरु आफूहरुसँग प्रसस्त रहेको प्रहरीको दाबी छ ।

ममताको हत्या भएको पुष्टि भइसकेपनि हालसम्म उनको शव भने अझै भेटिएको छैन । प्रहरीले शवको खोजी निरन्तर जारी राख्ने बताएको छ । प्रिन्स विलयम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत ममता अन्तिमपटक २७ जुलाईमा काममा गएकी थिइन् । लामो समय अफिस नआएपछि उनका सहकर्मीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी ममताको बारेमा सोधपुछ गर्न मानसासस्थित ममताको घरमा २ अगष्टमा पुगेको थियो ।

प्रहरीले ममतालाई फेला नपारेपछि उनका श्रीमान् नरेशसँग सोधपुछ गरेको थियो । नरेशले ममतालाई अन्तिमपटक ३१ जुलाईमा देखेको बताएका थिए । प्रारम्भिक अनुसन्धानपछि ममतालाई बेपत्ता पारेको अभियोगमा प्रहरीले नरेशलाई २२ अगष्टमा पक्राउ गरेको थियो । त्यसयता नरेश प्रहरी हिरासतमा छन् । लामो अनुसन्धानपछि नरेशले नै ममताको हत्या गरेर शव लुकाएको प्रमाण अदालतमा पेस गरेको छ ।

नरेशले गुगलमा ‘श्रीमती मरेको कति समयपछि विवाह गर्न पाइन्छ?’ ‘भर्जिनिया राज्यमा श्रीमती हराएमा के कानुन छ?’ भनेर सर्च गरेको प्रमाण प्रहरीले यसअघि नै फेला पारिसकेको छ । यसबाहेक उनले वालमार्टबाट तीन वटा चक्कु र घर सरसफाइ गर्ने प्रशस्तै सामान खरिद गरेको प्रमाण प्रहरीले संकलन गरेको छ ।

हत्या र शवको बेपत्ता गरेको अभियोग लागेका नरेशलाई मंगलबार अदालतमा पेस गरिँदैछ । नरेश र ममताको एक वर्षीया छोरी छिन् ।