राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सहकारी रकम अपचलन मुद्दामा चितवनको सरकारी वकिल कार्यालयमा आज ५ घण्टा बयान लिइएको छ। काठमाडौंबाट विमानमार्फत चितवन ल्याइएका लामिछानेले दिउँसो १२ बजेदेखि ५ बजेसम्म बयान दिएका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार, बयानपछि उनलाई हिरासत कक्षमा राखिएको छ।
सरकारी वकिल कार्यालयका न्यायधिवक्ता शान्तिराज लुइटेलका अनुसार आज प्रारम्भिक प्रश्नमात्र गरिएको छ, र भोलि थप गहिराइमा गएर बयान लिइनेछ। लामिछानेसँग लिखित बयान लिइएको र सरकारी वकिल तथा अनुसन्धान अधिकृतले संयुक्त रूपमा सोधपुछ गरेका थिए। भोलि बयान प्रक्रिया सक्ने तयारी गरिएको छ।
लामिछानेलाई चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना आरोपमा पक्राउ गरिएको हो। चितवन जिल्ला अदालतले मंसिर ५ गते लामिछानेसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
यसै मुद्दामा पूर्वडीआईजी छविलाल जोशी र नेचर हव इन्टरनेसनल प्रालिमा आबद्ध रामबहादुर खनाललाई पनि बयानका लागि चितवन ल्याइएको थियो। उनीहरूको बयान क्रमशः आइतबार र सोमबार सम्पन्न भएको छ।
प्रतिक्रिया