पाइलटलाई व्याजसहित तलब फिर्ता गर्न नेपाल एयरलाइन्सले निकाल्यो सूचना


काठमाडौं– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले क्याप्टेन रोशन केसीको नाममा ३५ दिने सूचना जारी गरेको छ ।

सम्झौताअनुसार काम नगरेको भन्दै निगमले क्याप्टेनको नाममा सूचना जारी गरेको हो । निगमले जारी गरेको सूचनामा कसीले तलब भत्ता, भ्रमण भत्ता लगायत शीर्षकमा बुझेको रकम ब्याजसहित फिर्ता गर्न निर्देशन दिएको छ ।

नियमले दिएको जानकारीअनुसार उनले सम्झौता पालना नगरेकाले बक्यौता असुल्ने निर्णय भएको निगमको दाबि छ । केसीले निगमकै खर्चमा तालिम लिएको, विभिन्न मुलुक भ्रमण गरेको, यसबापत भत्ता बुझेको, उक्त अवधिको तलब पनि बुझेको तर तालिमपछि काममा नफर्किएको निगमले जनाएको छ ।

यसबारे पटक पटक लिखित तथा मौखिक जानकारी गराउँदासमेत उपस्थित नभएपछि सार्वजनिक सूचना जारी गरेको निगमले जनाएको छ ।

यसअघि नेपाल एयरलाइन्सका स्थायी रुपमा कार्यरत पाइलटहरू आन्दोलनमा उत्रिएपछि दर्जनौँ नियमति उडान प्रभावित भएका थिए । करार सेवामा काम गर्नेहरुको भन्दा सेवा सुविधा कम भएको भन्दै यसको वृद्धिको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका थिए ।