चिवतनमा प्रहरीको नियन्त्रण बाहिर रविका समर्थक, टियर ग्यास र पानीको फोहोरा प्रहार


काठमाडौं– चितवनमा रास्वपा सभापति रवि लामिछानेका समर्थकहरुमाथी प्रहरीले बल प्रयोग गरेको छ । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले टियर ग्यास र पानीको फोहोरा प्रहार गरेको हो ।

यसअघि रविका समर्थकले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले पनि लाठीचार्ज गरेको थिए

चौविसकोटीबाट प्रहरी कार्यालयतर्फ आएको जुलुसलाई प्रहरीले रोक्न खोजेका थिए । त्यसक्रममा प्रदर्शनकारीबाट ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । प्रदर्शन नियन्त्रण गर्न तीन तहमा प्रहरीहरु खटाइएका छन् ।

अहिले चितवनस्थिच सरकारी वकिलको कार्यालयमा लामिछानेको बयान चलिरहेको छ । जिप्रका र सरकारी वकिलको कार्यालय ५० मिटरको दुरीमा रहेको छ । प्रहरी कार्यालय अगाडि दुई पक्षबीच टकराव भएको हो ।

लामिछानेलाई चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना आरोपमा बयान दिइदैँ छ । काठमाडौंबाट बयानका लागि मंगलबार चितवन लगिएका लामिछानेको १२ बजेबाट बयान लिने काम सुरु भएको थियो । मंगलबार बयान लिने काम नसक्किएपछि आज पनि निरन्तरता दिइएको हो । रविको बयान आज नै सक्ने तयारी रहेको सरकारी वकिल कार्यालयले जनाएको छ ।

चितवन जिल्ला अदालतले मंसिर ५ गते लामिछानेसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। यसै मुद्दामा पूर्वडीआईजी छविलाल जोशी र नेचर हव इन्टरनेसनल प्रालिमा आबद्ध रामबहादुर खनाललाई पनि बयानका लागि चितवन ल्याइएको थियो। उनीहरूको बयान क्रमशः आइतबार र सोमबार सम्पन्न भएको छ।