काठमाडौं– चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक र प्रहरीबीचको झडप हुँदा २० भन्दा बढी प्रहरी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यलय अगाडि रास्वपा समर्थकले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि झडप भएको थियो । उक्त झडपमा रास्वपाका ४० बढी कार्यकर्ता घाइते भएको त्यहाँ उपस्थित रास्वपाका कार्यकर्ताहरुले जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालयमा प्रहरीले रविका समर्थकको प्रदर्शन नियन्त्रण गर्न टियर ग्यास र पानीको फोहोरा प्रहार गरेको थियो। त्यसअघि रविका समर्थकले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले पनि लाठीचार्ज गरेको थिए । समर्थकहरु नियन्त्रण बाहिर गएपछि बल प्रयोग गरेको प्रहरीको दाबी छ ।
हाल चितवनस्थिच सरकारी वकिलको कार्यालयमा लामिछानेको बयान चलिरहेको छ । प्रहरी कार्यालय र रविको वयान चलिरहेको सरकारी वकिलको कार्यालय ५० मिटरको दुरीमा रहेको छ । त्यहाँ जान रोक्न खोज्दा दुई पक्षबिच तनावको स्थिति सिर्जना भएको छ ।
चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना आरोप लागेका लामिछानेलाई काठमाडौंबाट बयानका लागि मंगलबार चितवन पुर्याइएको थियो । चितवन पुग्ने बित्तिकै बयान सुरु गरेर आज सक्काउने तयारी सरकारी वकिल कार्यालयले गरेको छ ।
चितवन जिल्ला अदालतले मंसिर ५ गते लामिछानेसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। यसै मुद्दामा पूर्वडीआईजी छविलाल जोशी र नेचर हव इन्टरनेसनल प्रालिमा आबद्ध रामबहादुर खनाललाई पनि बयानका लागि चितवन ल्याइएको थियो। उनीहरूको बयान क्रमशः आइतबार र सोमबार सम्पन्न भएको छ।
प्रतिक्रिया