दक्षिण कोरियामा सैन्य शासन लागू गर्ने प्रयास २४ घण्टा पनि टिकेन, राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव


काठमाडौं– दक्षिण कोरियामा सैन्य शासन लागू गर्ने असफल प्रयासपछि राष्ट्रपति युन सुक योलविरुद्ध सांसद्हरुले महाभियोगको प्रस्ताव पेश गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टी (डीपीके) सहित ६ विपक्षी दलले राष्ट्रपति योलविरुद्ध महाभियोगको प्रस्ताव पेश गरेको छ । शुक्रबार बिहानै अविश्वासको प्रस्तावमा मतदान गर्ने तयारी रहेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।

मंगलबार स्थानीय समयअनुसार राति १०ः२३ बजे राष्ट्रपति योलले देशविराधी तत्वलाई तह गराउन भन्दै सैन्य शासन लागू भएको घोषणा गरेका थिए । उनले टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै उत्तर कोरियाका कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न यो कदम जरुरी भएको जिकिर गरेका थिए ।

राष्ट्रपतिले गरेको सम्बोधन लगत्तै दक्षिण कोरियाको सेनाले सम्पूर्ण राजनीतिक गतिविधि र संसदीय कारबाहीलाई निलम्बन गरिएको घोषणा गरेको थियो । यद्यपि, राष्ट्रपतिकै पार्टीका नेताहरुले पनि यो कदमको विरोध गरेका थिए भने विपक्षी दलका सांसद्हरुले संसद् भवनमा बाहिर उपस्थित भएर प्रदर्शन गरेका थिए ।

लगत्तै देशभर राष्ट्रपतिको विरोधमा प्रदर्शन भएको थियो । व्यापक दबाबबीच बुधबार बिहान उनले सैन्य शासन लागू गर्ने प्रस्ताव फिर्ता लिनु परेको थियो ।