काठमाडौं– नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारतभन्दा पहिला चीनको भ्रमणमा गएका विषयलाई भारतीय मिडियाहरुले प्राथमिकताका साथ समाचार प्रकाशित गरेका छन् । प्रधानमन्त्रीका् चीन भ्रमण र नेपालले चीनको बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेको विषय उनीहरुको प्राथमिकतामा परेको छ ।
बीआरआई सम्झौतामा हस्ताक्षर गरेर नेपाल भारतको प्रभावबाट टाढा जाने कोसिसको रुपमा बीबीसीको हिन्दी संस्करणले छापेको समाचारमा लेखिएको छ । यस्तै नेपाल चीनतिर ढल्किएको, चीनको ऋणको पासोमा परेको लगायतका विश्लेषणसहित समाचार छापिएका छन् ।
बिजनेस स्ट्याण्डर्डले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको परनिर्भरता कम गर्न चाहेकाले चीनसँग बीआरआई सम्झौतामा हस्ताक्षर गरेको लेखेको छ । उसले लेखेको छ, ‘ओली उत्तरी छिमेकीसँग आर्थिक सम्बन्ध गहिरो र पुनर्गठित गर्न चाहन्छन् । साथै उनी भारतसँग परम्परादेखि चल्दै आएको निर्भरता कम गर्न चाहन्छन् ।’
नेपालको अन्तर्राष्ट्रिय व्यापारको हिस्सा भारतसँग दुई तिहाइ र चीनसँग १४ प्रतिशत मात्र भए पनि चीनले नेपाललाई भारतको तुलनामा ३० मिलियन डलरभन्दा बढी अनुदान दिने गरेको पनि समाचारमा उल्लेख छ ।
नवभारत टाइम्सले नेपालले बीआरआईमा हस्ताक्षर गर्दा भारतका लागि राम्रो नभएको भन्दै समाचार लेखेको छ । ‘चीनलाई खुसी बनाउने नाममा ऋण लिएर नेपालका कम्युनिष्ट पार्टीले ‘जहाज डुबाउन’ सक्ने चिन्ता छ । नेपाल चीनको ऋणको पासोमा फस्दै जाने आशंका छ । यदि यस्तै भयो भने नेपालको नीतिमा चीनको दख्खल बढ्ने छ, जुन भारतका लागि राम्रो हुने छैन ।’ नवभारत टाइम्सले लेखेको छ ।
अधिकांश भारतीय मिडियाले नै बिआरआई फ्रेमवर्क सम्झैता ओलीलाई भारी पर्नसक्ने, नेपालमा चीनको प्रभाव पर्ने र यस सम्झैताले भारतलाई तनाव भएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया