घण्टौँ कम्प्युटरको अगाडि बस्दा जाडोमा आँखालाई जोगाउन के गर्ने?


काठमाडौँ- अहिलेको आधुनिक जमानामा प्रविधिले पुरै संसारलाई नै कोल्टे फेरिदिएको छ । हरेक मानिसको हात हातमा मोबाइल,ल्यापटप,कम्प्युटरको पहुँच पुगेको छ । र, यी प्रविधिकै प्रयोगमा मानिसहरुले हरेक दिन घण्टौँ बिताउने गर्छन् ।

जसकारण मानिसहरु विभिन्न शारीरिक र मानसिक समस्याबाट समेत पीडित भइरहेका छन् । अझ मोबाइल, कम्प्युटरको डिजिटल स्क्रिनमा दिनभरि आखाँ डुलाउँदा पछिल्लो समय आँखाको रोगीहरुकाे दरसमेत बढ्दै गइरहेको छ ।

मोबाइल, कम्प्युटर लामो समयसम्म चलाउँदा आँखालाई पनि उत्तिकै थकान महसुस हुन्छ । खास गरि जाडोमा धेरै थकान महसुस हुन्छ । अहिले जाडोयाम सुरु भइसकेको छ र चिसो दिनप्रतिदिन बढिरहेको छ । जाडोमा शरीरको काम सुस्त हुने हुनाले जाडोमा बढी आँखाको बडि ध्यान दिनुपर्ने हुन्छ ।

आँखा विशेषज्ञका अनुसार कम्प्युटर, मोबाइल र ल्यापटप बढी प्रयोग गर्नेहरूमा आँखा सुख्खा हुने समस्या बढी हुने गरेको पाइन्छ । जाडोको समयमा उनीहरूले फुर्सदको समयमा कम्प्युटर वा मोबाइल हेर्नुको सट्टा अन्य काममा ध्यान दिनुपर्ने चिकित्सकको भनाइ रहेको छ ।

यसका अलावा कार्यालयमा कम्प्युटर चलाउने व्यक्तिले २० मिनेटपछि आँखालाई आराम दिनुपर्छ र कम्प्युटरबाट अलि टाढा बस्नुपर्छ । यसका साथै आँखालाई केही समय बन्द गरेर पनि आराम दिन मिल्छ । यसो गर्नाले आँखाको तनाब कम हुन्छ ।

आँखालाई आराम दिन चिसो वा मनतातो पानीले आँखा धुन सकिन्छ । गर्मीमा भन्दा जाडोको बेला अस्पतालमा आँखाका बिरामीको चाप बढ्ने गर्छ । जसमध्ये २० देखि ३० प्रतिशत बिरामीको आँखा सुख्खा हुने समस्याबाट ग्रसित हुने गर्छन् ।