काठमाडौं– भारतीय गुन्डा नाइके लेरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलाई धम्क्याएको आरोपमा पनि मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुरोधमा काठमाडौं जिल्ला अदालतबाट प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीका अनुसार साइबर अपराध कसुरमा हिरासतमा रहेका प्रसाईको त्यहाँ काम सक्किएपछि उनलाई साइबरमा बयानका लागि लगिनेछ ।
सीआईबीको टोलीले झापाको मेचीनगर–१३ चारआलीबाट विश्नोईको नाम लिएर व्यवसायीहरूलाई धम्क्याएको आरोपमा हरिचन्द्र फुँयाललाई पक्राउ गरेको हो । चार व्यवसायीलाई धम्काएको आरोपमा पक्राउ परेका उनको प्रसाईँसँग सयपटकभन्दा बढी फोनमा कुराकानी गरेको पाइएको थियो । सोपछि प्रसाईँकै निर्देशनमा फुँयालले व्यवसायीहरुलाई धम्क्याएको आशंका गरिएको थियो ।
मेडिकल व्यवसायी प्रसाई भने मंसीर ४ देखी प्रहरी हिरासतमा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा अबौँ लगानी गरेको भन्दै उनले विवादास्पद सामग्री सार्वजनिक गरेपछि सीआईबीले पक्राउ गरेको थियो । उनले आफ्नो पक्राउ गैरकानुनी भएको भनेर यसअघि नै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट हालेपनि खारेज भएको थियो ।
उनी यसअघि पनि सामाजिक सञ्जालमा चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका थिए । साइबर अपराध अभियोगमा पक्राउ परेका उनी त्यसबेला एक लाख धरौटीमा रिहा भएका थिए ।
प्रतिक्रिया