इजरायलका नवनियुक्त राजदूत भन्छन्, ‘विपिन जोशी जीवित छन्’


काठमाडौं– नेपालका लागि नवनियुक्त इजरायली राजदूत स्मुलिक एरी बासले हमास लडाकुहरुले अपहरणमा पारेका नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको बताएका छन्।

बिहीबार पत्रकारहरूसँग छलफल गर्ने क्रममा अरब स्रोतहरूले विपिन जोशी जीवित रहेको जानकारी दिएको उनले बताएका हुन्।

उनले पत्रकारहरुसँग भने ‘अरब स्रोतहरूले विपिन जोशी जीवित रहेको बताएका छन्। तर, उनलाई कहाँ राखिएको छ र अहिले कुन अवस्थामामा छन् भन्ने हामीलाई थाहा छैन।’

उनले विपिन चाँडै नेपाल फर्कने आशा राखेको पनि बताए। ‘उनी अपहरणमा परेका कैयौँ व्यक्तिमध्ये रिहा हुनेमध्ये एक हुनुहुनेछ भन्ने विश्वास छ,’ उनले भने।

गत वर्ष अक्टोवर ७ मा हमासले इजरेलमा अनपेक्षित रूपमा गरेको आक्रमण गरेको थियो । आक्रमणमा परी कृषिका १० जना नेपाली विद्यार्थीसहित ११ सयभन्दा धेरैले ज्यान गुमाए। हमासले २५१ जनालाई बन्धक बनाएर लग्यो। ती बन्धकमध्ये नेपालका बिपिन जोशीलाई पनि बन्धक बनाएर लगिएको नेपालस्थित इजरायली दूतावासको भनाइ छ।

तर एक वर्ष बितिसक्दा पनि विपिनको बारेमा ठोस जानकारी प्राप्त हुन सकेका छैनन् ।