काठमाडौं– बुधबार राति आठ बजे पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेको चितवनमा बयान सक्कियो । उनलाई बिहीबार दिउँसो हवाई मार्गबाट पोखरा लगिने बताइएको थियो । तर सुरक्षाका दृष्टिकोण प्रहरीलाई बिहीबार सबेरै स्थलमार्गबाट पोखरा पुर्यायो । रविलाई प्रहरीले तीन बजे राति नै उठाएर पोखरा पुर्याएको थियो । उनीहरु बिहान ६ बजे पोखरा पुगेका थिए ।
यता रातारात पोखरा पुर्याउने क्रममा रविको ‘हिरासत डायरी’ भने गायब भएको रास्वपाका कार्यकर्ताले बताएका छन् । सहकारी ठगी प्रकरणका लागि गत कात्तिक २ गते पक्राउ परेका रविले हिरासतमा रहेदेखि नै आफ्नो अनुभुतीका बारेमा डायरी लेख्ने गरेका थिए । उक्त डायरीलाई समेटिएका आफ्ना अनुभव र भोगाइहरुलाई पछि पुस्तकका रुपमा प्रकाशनमा ल्याउने समेत रविले योजना बनाएको रास्वपाका नेताहरुले बताएका छन् ।
रविले आफ्नो डायरी हिरासतमा रहँदा सँधै आफैसँग राख्ने गरेका थिए । बिहीबार बिहान पोखरा जाने क्रममा पनि लामिछानेले झोलामा डायरी, किताब र कपडाहरु बोकेका थिए। तर, प्रहरीले पोखरा पुर्याएर लामिछानेलाई झोला बुझाउँदा रविको डायरी भने गायब बनाएको भनेर रविले गुनासो गरेको उनका स्वकीय सचिव अविनाश आचार्यले बताएका छन् ।
कास्की हिरासत पुगेदेखि नै रविले दैनिक लेख्ने गरेको डायरी खोजिरहेको तर प्रहरीले नदिएको उनको भनाई छ । प्रहरीले डायरी फिर्ता दिन्छौँ, दिन्छौँ भन्दै अल्झाउने काम गरेको उनले बताएका छन् । यस्तै प्रहरीले भने डायरी लिने काम ठीक नभएको र आफूहरुले नलिएको दाबी गरेको छ । रविको डायरी हराएको सूचना पाएपछि उनलाई सोधेको कास्की प्रहरीका डिएसपी बसन्त शर्माले बताएका छन् । जवाफमा रविले आफुसँग डायरी नरहेको बताएको उनको भनाई छ ।
विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका लामिछाने कात्तिक २ गतेदेखि हिरासतमा छन् । सुरुमा कास्कीको सुर्योदर्शन सहकारीको अनुसन्धान गर्न हिरासतमा राखिएका उनको रुपन्देही, काठमाडौं र चिवतनमा पनि बयान लिइसकिएको छ । यस्तै उनीविरुद्ध पर्सामा पनि पक्राउ पूर्जी जारी भएको छ ।
प्रतिक्रिया