पैसा तिरेर हप्ता, महिना दिनका लागि ब्वायफ्रेण्ड बनाउने ट्रेन्ड बढ्दै


भनिन्छ, साँचो प्रेमलाई पैसाले खरिद गर्न सकिँदैन । तर पछिल्लो समय प्रेम नै एउटा व्यवसायको रुपमा फस्टाइरहेको छ । विशेगरी एसियाली राष्ट्रहरुमा भाडामा प्रेमी प्रेमिका लिने ट्रेन्ड बढेको हो ।

चीन, जापान, भियतनाममा प्रेमी, प्रेमिका भाडामा लिने ट्रेन्ड निकै बढीरहेको छ । यस्तै भाडामा ब्वाइफ्रेन्ड लिँदा भियतनाममा अनौठो घटना भयो । मिन्ह थू नामकी एक ३० वर्षीया कामकाजी युवती लामो समयदेखि प्रेम सम्बन्धमा रहन सकेकी थिइनन् । ३० वर्ष पुगिसकेकी छोरीले विवाह गरोस् भन्ने आमाबुबा चाहन्थे । मिन्ह थूको लागि विवाहको दबाब पनि दिने गरेका थिए । त्यसपछि युवतीले आफ्नो समस्या समाधानका लागि अनौठो समाधान निकालिन् । उनले एकजना ब्वायफ्रेण्ड भाडामा लिइन् ।

तर विस्तारै उनले भाडामा लिएको ब्वायफ्रेन्डसँग मन पराउन थालिन् र उनीहरु वास्तविक रुपमै प्रेमी प्रेमिका बने ।

भियतनाममा एक हप्ता, एक महिनाका लागि गर्लफ्रेण्ड वा ब्वायफ्रेण्ड भाडामा लिन सकिन्छ । एक हप्ताका लागि १ सय अमेरिकी डलरसम्म र एक महिनाको लागि तीन सय डलरसम्म तिर्नुपर्ने हुन्छ ।

भियतनामबाहेक चीन र जापानमा पनि ब्वायफ्रेन्ड, गर्लफ्रेन्डलाई भाडामा लिइने कुरा कुनै नयाँ होइन । साउथ चाइना मर्निंग पोस्टका अनुसार फूल टाइम जागिर हुनेहरुले पनि खाली समयमा भाडाको ब्वायफ्रेण्ड वा गर्लफ्रेण्ड बन्ने काम गर्छन् । यस कामबाट उनीहरुले राम्रो कमाई गर्नेसमेत जनाइएको छ ।

यसरी भाडामा ब्वायफ्रेण्ड वा गर्लफ्रेण्ड लिने प्रवृत्ती बढ्नुको पछाडी पछिल्लो समय मानिसहरु विवाह बन्धनभन्दा टाढा बस्न चाहनु प्रमुख कारण रहेको विज्ञहरु बताउँछन् । पहिले एक पटक विवाह गरेपछि त्यही मान्छेसँग जीवनभर दुःख सुख बाँड्नुपर्छ भन्ने सोचाई राख्थे । तर अहिले मानिसहरु लामो समयसम्म एउटै मानिससँग रहन चाहँदैनन् ।

उनीहरु एक्लोपन भएको बेलामा, मनको बह पोख्नुपरेमा नजिकको साथी चाहन्छन् तर लामो समयसम्मको लागि भने होइन । मानिसहरु अस्थायी सम्बन्धको खोजीमा लागेकाले निश्चित शुल्क तिरेर केही समयको लागि प्रेमी प्रेमिका खरिद गर्ने ट्रेन्ड बनेको विज्ञहरु बताउँछन् ।