महिलाहरु पुरुषभन्दा धेरै समय बस्छन् अनलाइन


काठमाडौं– पछिल्लो समय इन्टरनेट मानिसको जीवनमा हरेक कामका लागि अति आवश्यक सामसामाग्री बनेको छ ।रोजगारी, शिक्षादेखि मनोरञ्जनका लागि इन्टरनेटको प्रयोग गरिँदै आइएको छ । यसका लागि दैनिक रुपमा लामो समयसम्म मानिसहरु अनलाइन बस्ने गर्दछन् ।

यसै सन्दर्भमा हालसालै को बढी अनलाइन बस्छन् भनेर एक अध्ययन गरिएको थियो । बेलायतको दूरसञ्चार नियामक संस्था अफकमको अनलाइन नेसन रिपोर्टले गरेको अध्ययनमा पुरुषभन्दा महिला अनलाइनमा बढी समय बिताउने गरेको देखाएको छ ।

रिपोर्ट अनुसार वयस्क महिलाहरूले दैनिक रूपमा पुरुषभन्दा ३३ मिनेट बढी समय अनलाइनमा बिताउने गर्छन् । यस्तै १८ देखि २४ वर्ष उमेरका युवाहरूमा यसको अन्तर अझ धेरै देखिएको छ । यस उमेर समूहमा महिलाहरूले पुरुषभन्दा औसतमा एक घण्टाभन्दा बढी अनलाइनमा बिताउने देखिएको हो ।

बेलायतलाई अनुसन्धान क्षेत्र बनाएर गरिएको उक्त सर्वेक्षण अनुसार महिलाहरूले अनलाइनमा स्वास्थ्य र जीवनशैलीसँग सम्बन्धित वेबसाइटमा बढी समय बिताउँछन् । पुरुषहरूले जेनेरेटिभ एआई टुल्स प्रयोग गर्ने तथा अश्लील साइटहरूको प्रयोगमा बढी समय खर्च गर्ने गरेका छन् ।

अनलाइनमा रहँदा किशोरीहरू यौनजन्य सामग्री, महिला विरोधी सामग्री, हिंसात्मक सामग्रीप्रति बढी चिन्तित देखिन्छन् । यता पुरुषहरू भने गलत सूचना, ठगी र घृणायुक्त सामग्रीबाट समस्यामा परिरहेको उक्त अनुसन्धानले देखाएको छ।