जनकपुरधाम– सीताराम विवाह पञ्चमीको अवसरमा शनिबार जानकी मन्दिरमा ३४ जोडी विवाह बन्धनमा बाँधिएका छन् । यी जोडीले शनिबार राति हुन्दु परम्परा अनुसार जानकी मन्दिर परिसरमा सामुहिक विवाह गरेका हुन् ।
तर यो विवाहमा दुलाहा दुलही पक्षले खर्च गर्नुपरेन भने दाइजोको लेनदेनपनि भएन । उनीहरुको विवाहमा लाग्ने सम्पूर्ण खर्च विश्व हिन्दू परिषद् नेपालले गरेको हो । विवाह गर्नुअघि बेहुलाहरूलाई दिउँसो रथमा राखेर जनकपुरधाम नगर परिक्रमा गराइएको थियो ।
विवाहमा बेहुलीका लागि आवश्यक पर्ने सुनको मङ्गलसूत्र, साडी, शृङ्गार पटार तथा बेहुलाका लागि आवश्यक पर्ने सबै लुगा परिषद्ले व्यवस्था गरेको बताए । यस्तै विवाहित जोडीलाई भान्सा कोठामा प्रयोग हुने भाडावर्तन, बेडसिटको व्यवस्था पनि परिषद्ले नै गरिदिएको थियो । विवाह समारोहमा सहभागी जोडीका २५÷२५ जनालाई भोजको व्यवस्था पनि मिलाइएको थियो ।
परिषद्का धनुषा अध्यक्ष सन्तोष साहका अनुसार दाइजो प्रथा अन्त्य गर्न विगत ६ वर्षदेखि यसरि सामूहिक विवाह गराउँदै आइएको छ । दाइजो बिना विवाहका लागि परिषद्ले सूचना जारी गर्छ । त्यसपछि सम्पर्कमा आएका बेहुला–बेहुलीलाई दुवै पक्षका अभिभावकको सहमतिमा सामूहिक विवाह गराइन्छ । यसमा अधिकांश विपन्न वर्गका बेहुला–बेहुली सहभागी हुने गरेका छन् ।
प्रतिक्रिया