लक्ष्मीपुजाको दिन अर्थात कात्तिकको १५ गतेबाट रिलिजमा आएको फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’लाई भोलि सोमबारबाट हलबाट उतार्ने घोषणा यसको निर्माणपक्षले गरेको छ । बिहिबार एक विज्ञप्ती निकाल्दै निर्माण कम्पनी सेभेन सिजले हलबाट फिल्म उतार्ने घोषणा गरेको हो ।
विशेषगरि, दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ रिलिज भएपछि आफूहरुको फिल्मलाई कर्नरिङ गरिएको भन्दै निर्माणपक्षले भोलिबाट फिल्म उतार्ने घोषणा गर्यो ।
बक्स अफिसमा ऐतिहासिक रेकर्ड बनाएको यो फिल्म हलबाट उतार्ने निर्णय निर्माणपक्षले गर्दा पनि वितरक र प्रदर्शकले भने मानेका छैनन् । जसकाकारण, भोलि सोमबारका लागि पनि अधिकांश हलमा शोज निकालिएको छ ।
यसले, नेपाली फिल्म क्षेत्र कसको इशारामा चल्छ भन्ने प्रष्ट हुन्छ । निर्माताले हलबाट फिल्म निकाल्छु भन्दा पनि वितरक र प्रदर्शकको सहमती चाहिने भन्ने कुरा अचम्मलाग्दो छ ।
सरोज पौडेलको निर्देशनमा तयार भएको यो फिल्मले ४६ करोड माथिको ग्रस कलेक्शन नेपाली बक्स अफिसमा गरेको छ । तर, विदेशी फिल्म आएपछि नेपाली फिल्मको शोज खुम्च्याउने शैली यसपटक पनि देखिएको छ ।
प्रतिक्रिया