त्रिभुवन विश्वविद्यालयको एक हजार रोपनी जग्गा नै गायब


काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) को एक हजार रोपनीभन्दा बढी जग्गा हिनामिना भएको पाइएको छ । त्रिविको ३ हजार ७ सय रोपनी जग्गामध्ये एक हजार रोपनी भन्दा बढी जग्गा अतिक्रमण तथा हिनामिना भएको पाइएको हो ।

हजारौँ रोपनी जग्गा हिनामिना भएपछि त्रिविले उच्चस्तरीय छानबिन समिति बनाएर जग्गा खोज्न लगाइएको थियो । उक्त छानबिन समितिले ३ हजार ७ सय रोपनी जग्गामा १ हजार रोपनी जग्गा विभिन्न संघ संस्थाले प्रयोग गरिरहेको पत्ता लगाएको हो । ती जग्गाहरु विभिन्न संघसस्थाहरुले भोगचलन गरिरहेका छन् ।

जग्गा हिनामिनामा त्रिविका पदाधिकारी नै जिम्मेवार रहेको छानबिन समितिको ठहर छ । संघ संस्थालाई जग्गा बाँड्न त्रिविकै पदाधिकारी संलग्न भएको र उनीहरुमाथि थप अनुसन्धान गरी कारबाही गर्न समितिले सुझाव दिएको शिक्षा मन्त्रालयका एक अधिकारीले भने ।

सरकारले गत जेठ १८ मा पूर्वसचिव शारदा प्रसाद त्रितालको संयोजकत्वमा त्रिविको जग्गा खोजबिन समिति बनाएको थियो । तर त्रिताल अस्वस्थ भएपछि समिति सदस्य महेन्द्रकुमार थापालाई संयोजक बनाइएको थियो । समिति सदस्यमा जानकीबल्लभ अधिकारी र प्रेम सागर चापागाईँ थिए ।

समितिलाई त्रिविको जग्गा, भवन लगायत अचल सम्पत्ति खोजी गरी प्रतिवेदन पेस गर्न भनिएको थियो । छानबिन गर्न समितिलाई ६ महिनाको समय दिइएको थियो । उक्त समयमा भएको खोजबिनमा नसोचेको ठाउँको जग्गा पनि बाँडिएको पाइएको छ ।

पुल्चोक र मिनभवनमा रहेको त्रिविको जग्गा पनि हिनामिना भएको छ । उता काठमाडौं बाहिर पनि धेरै ठाउँमा त्रिविको जग्गा अतिक्रमण भएको निष्कर्ष निकालेको छ । उपत्यका बाहिरको जग्गामा अझै अध्ययन आवश्यक रहेको औंल्याएको छ ।

उक्त प्रतिवेदन समितिले हाल शिक्षा मन्त्रालयलाई बुझाएको छ । यसलाई मन्त्रिपरिषदबाट निर्णय भएपछि मात्र खोल्ने मन्त्रालयले जनाएको छ । शिक्षामन्त्री विद्या भट्टराईले उक्त प्रतिवेदन बुझाएपछि औपचारिक रुपमा सार्वजनिक हुन्छ ।