काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथी मानवअधिकार हनन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ । रविलाई बिहीबार बिहान चितवनबाट पोखरा लाने क्रममा दुव्र्यवहार भएको भन्दै उजुरी दिइएको हो ।
२ कात्तिकमा रवि पक्राउ परेयता नै प्रहरीले विभिन्न किसिमले मानसिक यातना दिने कार्य गरेको उजुरीमा उल्लेख छ । राज्य संयन्त्रबाट सभापति लामिछानेलाई अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको भनी आयोगलाई ध्यानाकर्षण गराइएको छ ।
‘एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमान तथा गैरन्यायिक चाल हो । यो राज्य आतंक हो । सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन् गरेको छ,’ उजुरीमा भनिएको छ ।
राज्य संयन्त्रले नियोजित रुपमा सञ्चारमाध्यमहरूको प्रयोग गरी लामिछानेलाई अपराधीका रुपमा प्रचारप्रसार र बदनाम गराउने प्रयत्न गरेको रास्वपाले उजुरीमा उल्लेख गरेको छ । लामिछानेविरुद्ध भएका मानवअधिकार हनन् भएका विषयहरुको सत्य तथ्यपूर्ण तथा निष्पक्ष छानबिनको माग रास्वपाले गरेको छ ।
यसअघि शुक्रबार रविकी पत्नि निकिता पौडेलले पनि राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गराएकी थिइन् । लामिछानेको व्यक्तिगत डायरीको गैरकानुनीरूपमा कब्जा गरी गोपनीयताको अधिकारको उल्लङ्घन गरेको, गैरकानुनी हिरासतमा राखिएको, कानुनी परामर्शको उचित अवसर नदिइएको, मानवीय सम्मान वा आत्म सम्मानमा चोट पुर्याउने प्रयास भइरहेको भन्दै उजुरी दर्ता गरेकी हुन् ।
प्रतिक्रिया