नायक प्रदीप खड्काले नेपाली फिल्म क्षेत्र ‘फ्यामिली बिजनेश’ शैलीमा चलेको बताएका छन् । उनले, यो क्षेत्रलाई कर्पोरेट शैलीमा लैजानुपर्ने तर्क गरे ।
‘कर्णाली अन्तरराष्ट्रिय महोत्सव’को बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रदीपले भने–‘जुन दिन फिल्मलाई व्यापारको दृष्टिकोणबाट हेरिन्छ, त्यो दिन धेरै कुरा परिवर्तन हुन्छ । अहिलेसम्म पारिवारिक व्यापार भइरहेको छ, किराना व्यापार जस्तो । १० बजेसम्म बुबा पसलमा बस्ने, आमा पुजापाठ गर्ने । १० बजेपछि बुबा खाना खाएर सुत्न जाने, आमा पसलमा बस्ने । स्कुलबाट फर्किएपछि बच्चाबच्ची पसलमा बस्ने । आमा खाना पकाउने जाने । यसरी किराना पसल स्टाइलमा नेपाली फिल्म क्षेत्र चलेको छ ।’
प्रदीपले भनाई थप्दै भने–‘आमा निर्देशक, बुबा निर्माता, छोराछोरी नायक–नायिका ।’ यती भन्दै प्रदीप एकछिन हाँसेका थिए ।
नायक खड्काको भनाई फिल्म क्षेत्रमा बाबु–आमाले फिल्म बनाउने अनी छोराछोरीले खेल्ने शैलीमा छ भन्ने थियो । उनको भनाई फिल्म क्षेत्रमा रहेका परिवारमाथि लक्षित देखिएको थियो ।
आफ्नो भनाइबाट बारम्बार विवादमा आउने गरेका प्रदीपको यो भनाइलाई फिल्म क्षेत्रमा काम गरिरहेका विभिन्न परिवारका सदस्यहरुले कसरी लिने हुन् हेर्न बाँकी छ ।
प्रतिक्रिया