काठमाडौं– पछिल्लो समय काँग्रेस–एमाले गठबन्धनबाट बनेको ओली सरकार ढल्ले अड्कलबाजी चल्न थालेका छन् । पछिल्लो समयमा सामाजिक सञ्जालमा राजनीतिक घटनाक्रमलाई लिएर विभिन्न विश्लेषण गर्दै सरकार ढल्ने अड्कलबाजी भएका हुन् ।
आइतबार अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट नगरि काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका थिए । प्रधानमन्त्री ओलीलाई नभेटी पहिलो र तेस्रो ठूला दलका प्रमुखलाई भेटेको विषयलाई लिएर अब ओली सरकार धेरै नटिक्ने अनुमान गर्न थालिएको हो ।
यस्ता विश्लेषणको प्रमुख कारण भने हालसालै प्रधानमन्त्री ओलीको चीन भ्रमणसँग जोडिएको छ । ओली चीन भ्रमण जाँदा बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) को मस्यौदामा सम्झौता भएको छ । उक्त सम्झौतामा एमाले–काँग्रेसबीच नै असहमति भएको देखिएको छ । उक्त सम्झौतालाई भारत र अमेरिकाले समेत मन नपराएको र सरकारलाई समस्यामा पार्ने बुझाइ रहेका छन् ।
त्यसैमाथी लुले ओलीसँग नभेट्नुलाई मानिसहरुले सरकार ढल्ने संकेतका रुपमा बुझेका छन् । यता बालुवाटार स्रोत भने प्रधानमन्त्री ओली गृहजिल्ला झापा गएकाले उनको भेट लुसँग हुन नसकेको बताउँछ । तर, अमेरिकी दूतावासले सार्वजनिक गरेको लुको कार्यक्रमअनुसार प्रधानमन्त्रीसँग भेटवार्ता नै तय छैन ।
उता ओली सरकार ढल्ने विश्लेषण हुन थालेपछि यसको असर शेयर मार्केटमा पनि देखिएको छ । सरकार ढल्ने हल्लासँगै आइतबार सेयर बजार १.६७ प्रतिशतले घट्दै नेप्से परिसुचक २७ सयमुनि झरेको थियो ।
प्रतिक्रिया