‘पूर्णबहादुरको सारंगी’ बनाउने कम्पनीले बनाएको फिल्म प्रदर्शन नगर्ने चलचित्र संघको घोषणा


काठमाडौं– फिल्म प्रदर्शकको छाता संस्था नेपाल चलचित्र संघले फिल्म निर्माण कम्पनी सेभेन सिज सिनेमाले अबदेखि निर्माण तथा वितरण गर्ने कुनै पनि चलचित्र प्रदर्शन नगर्ने घोषणा गरेको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै सेभेन सिज सिनेमाले आफ्नो फिल्मलाई हलबाट निकाल्ने भन्दै निकालेको विज्ञप्तिको धारणा स्पष्ट पार्नुपर्ने सर्त राखेको छ । यस्तो नगरेसम्म उक्त कम्पनीले वितरण र निर्माण गर्ने कुनैपनि फिल्मलाई प्रदर्शन नगर्ने चेतावनी दिएको हो ।

सेभेन सिज सिनेमाले निर्माण गरेको फिल्म पूर्णबहादुरको सारङ्गी ५० करोडभन्दा बढी कमाइ गर्ने पहिलो फिल्म बनेको छ । कात्तिक १५ मा रिलिज भएको फिल्मले हलहरुमा पनि राम्रो सो पाएको थियो । तर, भारतीय फिल्म पुष्पा २ रिलिज भएसँगै यो फिल्मसँगै प्राय सबै फिल्मको सोज्लाई कटौती गरिएको छ।

सोपछि फिल्म निर्माण कम्पनीले विज्ञप्ति निकालेर फिल्म चलिरहेकै अवस्थामा पनि नगण्य शो पाएको र पाएका शो पनि अफटाइममा पाएको, थोरै सिट क्षमता भएका स्क्रिन दिएको भन्दै सोमबारबाट हलबाट फिल्म उतार्ने चेतावनी दिएको थियो। तर वितरकसँग ६ महिनाको सम्झौता गरेको हुनाले फिल्म हलबाट उतार्ने विषयमा वितरकको निर्णय रहने भन्दै फिल्मको प्रदर्शन निरन्तर हुने निर्णय गरेको थियो ।

सोहि विषयलाई लिएर हलमा चलचित्र प्रदर्शन गर्ने वा नगर्ने सम्पूर्ण अधिकार वितरकमा निहित रहने भन्दै संघले स्पष्ट पारेको छ । सेभेन सिजले विज्ञप्तिमार्फत संघका सदस्यहरूको विज्ञप्तिमार्फत पटक पटक मानमर्दन गर्ने कार्य गरेको भन्दै खेद समेत ब्यक्त गरेको छ । मानमर्दन गर्ने कार्य संघलाई सह्य नहुने भन्दै आफ्नो धारणा प्रष्ट नपारेसम्म सेभेन सिजले बनाउने र वितरण गर्ने फिल्म प्रदर्शन नगर्ने घोषणा गरेको हो ।

यस्तै सेभेन सिज सिनेमाले सोमबार पनि विज्ञप्ति जारी गर्दै मंसिर २२ गतेको सूचनालाई सच्याएको बताएको छ ।