काठमाडौं– कहिलेकाँही व्यस्थ जीवनशैलीसँग दिक्क मानेर भन्छौँ, ‘निदाएर पैसा कमाउने कुनै जागिर भइदिए पनि हुने ।’
तर व्यस्थ जीवनशैलीका कारण मानिसहरु आवश्यकता अनुसारको समय सुत्न पनि पाइरहेका हुँदैनन् । विभिन्न किसिमका जिम्मेवारी, पढाइ वा भविष्यका चिन्ताले मानिसलाई निदाउन दिइरहेको हुँदैन । यसै कारणले अनेक किसिमका रोगको सिकारमा मानिसहरु पर्ने गरेका छन् भने कतिपयलाई त निदाउनका लागि औषधिसमेत खानुपर्ने अवस्था नै आइलागेको छ ।
यस्तोमा छिमेकी देश भारतमा भने एक कम्पनीमा निदाउन कै लागि दुई महिनाको काम दिइन्छ । यो एक प्रतियोगिता हो, जहाँ प्रतियोगीले ६० दिनसम्म हरेक दिन ९ घण्टाभन्दा बढी समय सुत्नुपर्ने हुन्छ । भारतीय ‘मेट्रेस एन्ड बेडिङ’ कम्पनी वेकफिटले केही समयदेखि ‘स्लिप इन्टर्नसिप’ आयोजना गर्दै आएको हो। अहिलेसम्म यसका तीन संस्करण सम्पन्न भइसकेका छन्।
यस प्रतियोगितामा ६० दिनसम्म प्रतियोगीलाई राखिन्छ । जहाँ उनीहरूले प्रायः ९ घण्टा सुत्ने, पावर न्याप (दिनको समयमा छोटो निद्रा) लिने र कम्पनीको नयाँ वेकफिट म्याट्रेस परीक्षण गर्नुपर्ने हुन्छ। यसको एउटा संस्करणमा १२ जनालाई सहभागी गराइन्छ । ती मध्ये उत्कृष्ट निदाउन सक्नेलाई नौ लाख भारु पुरस्कार दिइन्छ भने बाँकी ११ जनाले एक/एक लाख रुपैयाँ पाउँछन् ।
यस प्रतियोगिताको अन्तिम संस्करण गत मार्चमा भएको थियो । जसमा ‘स्लिप च्याम्पियन अफ द इयर २०२३’ को उपाधि जित्दै बैंग्लोरकी सैश्वरी पाटिलले ९ लाख भारतीय रुपैयाँ पुरस्कार हात पारेकी थिइन्। यस्तै ‘स्लिप इन्टर्नसिप’ को चौँथो संस्करणका लागि पनि आवेदन खुला गरिसकिएको छ ।
हालसम्म भएका तीन संस्करणमा भने १० लाखभन्दा बढी आवेदन प्राप्त भएको कम्पनीको दाबी छ । अहिलेसम्म यस प्रतियोगितामा भने ५१ जना यसमा सहभागी भएका छन् ।
यस कार्यक्रमले प्रत्येक सहभागीलाई उनीहरूको निद्राको गुणस्तर अनुगमन गर्न प्रिमियम गद्दा ‘मेट्रेस’ र कन्ट्याक्टलेस स्लिप ट्र्याकर प्रदान गर्छ। सहभागीहरूले निद्रा विशेषज्ञहरूको नेतृत्वमा उनीहरूको निद्राको बानी सुधार गर्न कार्यशालामा भाग लिन्छन्।
प्रतिक्रिया