काठमाडौं- नेपालमा पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल यही डिसेम्बर २४ पुस ९ गते देखि पर्यटकीय राजधानी पोखरामा सुरु हुन गइरहेको छ ।
बेलुन नेपाल प्रालिको आयोजनामा पोखराको पामे फाँटमा हुन लागेको फेस्टिभलमा नेपालसहित २० देशका व्यावसायिक बेलुन कम्पनीको सहभागिता हुनेछ । क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर हुन लागेको फेस्टिभल सन् २०२५ को पहिलो दिन १ जनवरीसम्म चल्ने फेस्टिभलका इन्टरनेसनल संयोजक रोबर्ट विकले बताए।
महोत्सव पामे क्षेत्रको लौरुकदेखि चङ्खपुरसम्म तीन किलोमिटर क्षेत्रमा आयोजना हुनेछ । फेस्टिभलमा अमेरिका, स्पेन, लिथुनिया, थाइल्याण्ड, भियतनाम लगायत मुलुकमा कम्पनीले भाग लिने आयोजक कम्पनीका प्रबन्ध निर्देशक एवं फेस्टिभल संयोजक सविन महर्जनले जानकारी दिए ।
फेस्टिभलमा हरेक दिन सांगीतिक कार्यक्रम, फुड स्टल, मेला र खेल समेत हुनेछन् । फेस्टिभलमा राष्ट्रिय कलाकारहरु दीपक बज्राचार्य एण्ड टिम, राजु लामा एण्ड मंगोलियन हार्ट, एलिना चौहान, कुमा सागर एण्ड ब्यान्ड लगायत पोखराका स्थानीय ब्यान्डले सांगीतिक प्रस्तुति दिने आयोजकले बताएको छ ।
प्रतिक्रिया