२४ यात्रु सवार बस बाँकेमा दुर्घटना


काठमाडौं- काठमाडौंबाट धनगढी जाँदै गरेको बस सोमबार बिहान बाँकेमा दुर्घटना भएको छ।

२४ यात्रु सवार बसले ट्रकलाई जोगाउन खोज्दा रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी दुई जना सामान्य घाइते भएको र उनीहरु आफै कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका लागि गएको प्रहरीले बताएको छ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका– ८ मगुवामा काठमाडौंबाट धनगढी तर्फ जाँदै गरेको सु।प।प ०१ –००१ ख ३६४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई जोगाउने क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो। चालक कैलालीको गोदावरी नगरपालिका – १ का ३६ वर्षीय रामबहादुर डाँगी प्रहरीको नियन्त्रणमा रहेका छन् ।

घटनापछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी निरीक्षक राजकुमार भट्ट नेतृत्वको ९ जनाको टोली घटनास्थल पुगेको थियो।