काठमाडौं– इन्स्टाग्राममा भेटिएर तीन वर्षदेखि सम्बन्धमा रहेकी प्रेमिकालाई बिहे गर्न गएका बेहुला र जन्ती अलपत्र परेका छन् । भारतका पञ्जाबका २४ वर्षीय दीपककुमार १५० जनाको जन्तीसहित बेहुलीले बोलाएको ठाउँ पुगेका थिए ।
तर, युवतीले भनेको ठाउँमा पुगेर सम्पर्क गर्दा फोन अफ गरी फरार भएपछि उनीहरू अलपत्र परेका हुन् ।
पीडित बेहुला दीपक वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा बस्थे र त्यहीँ रहँदा इन्स्टाग्राममा उनले मनप्रित कौर नामकी युवतीको अकाउन्ट फेला पारे । त्यसमा उनीहरुको कुराकानी सुरु भयो । मनप्रितले दीपकलाई आफू वकिल तथा अधिवक्ता भएको बताएकी थिइन् । कुराकानी गर्दै जाँदा उनीहरूको सम्बन्ध प्रेममा बदलियो ।
झन्डै तीन वर्षसम्म उनीहरूले इन्स्टाग्राममै च्याट गरे । उनीहरुले एक अर्काको फोटो आदान प्रदान गरे । तर उनीहरुको भेटघाट भने भएको थिएन ।
तर भेटघाट बिना नै उनीहरूले आफ्नो प्रेम सम्बन्ध बिहेमा परिणत गर्ने योजना बनाउँदै आआफ्ना बुबाआमालाई फोनमा कुरा गर्न लगाए । परिवारसँग सहमती भएपछि ६ डिसेम्बरमा बिहे गर्ने निश्चित भयो ।
त्यसपछि बिहे गर्नकै लागि भनेर दीपक दुबईबाट पञ्जाब को जलन्धार मन्दीस्थित आफ्नो घर आए । युवतीले विहेमा गाउँभरका मान्छेलाई लिएर जन्त आउन भनेपछि उनी १५० जना जन्ति लिएर घरबाट निस्किएका थिए ।
युवतीले पन्जाबकै मोगा सहरको ‘रोज गार्डेन प्यालेस’ नामक पार्टी प्यालेसमा आउन भनेकी थिइन् । भारतीय समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार बिहेका लागि उनीहरु मोगा पुगेपनि साँझ पाँच बजेसम्म पनि बेहुलीको तर्फबाट कोही आएनन् । त्यसपछि बेहुला दीपकले स्थानीयलाई आफूलाई आउन भनिएको ‘रोज गार्डेन प्यालेस’ को बारेमा सोधे । तर त्यहाँ उक्त नामको कुनै पार्टीप्यालेस नै थिएन ।
लगत्तै उनले युवतीलाई फोन गरे तर फोन अफ थियो । बिहेका लागि जन्तसहित हिँडेका दीपक अलपत्र परेपछि उनीहरुले नजिकैको प्रहरी चौकीमा दिए ।
दीपकले आफूलाई बिहेको सबै बन्दोबस्त मिलाउन महिनौँ लागेको बताएका छन् । पाहुनाका लागि ट्याक्सी, त्यसमा सजाउने फूल, भिडिओ ग्राफरमा लाखौँ खर्च गरेको उनको भनाइ छ ।
उता युवतीले पनि बिहेकै लागि भनेर दीपकसँग ५० हजार भारु मागेकी थिइन् । युवती पनि फोटोमा देखिएकी नै हुन् कि होइनन् भन्नेमा समेत दीपकलाई शङ्का लागेको छ । यस्तै युवतिले भनेको परिवार पनि नक्कली हुन की भन्ने उनले शंका गरेका छन् । यो सबै ठगी गर्नैकै लागि रचिएको षड्यन्त्र थियो वा युवती केही समस्याले गर्दा अलपत्र परेकी हुन् भन्ने खुलिसकेको छैन ।
प्रतिक्रिया