अङ्कुसेले तानेर सुन चोरी


काठमाडौँ- भक्तपुरको लोकन्थलीमा चोरले अङ्कुसेले तानेर करिब १४ लाखको सुन चोरेर भागका छन् । कार्तिक १५ मा भएको सो घट्नामा संलग्न आरोपीको क्लु अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन ।

मध्यपुर थिमी नगरपालिका–२ लोकन्थलीस्थित बिगमार्ट नजिकै होमबहादुर काउछाको डेरामा लक्ष्मीपूजा गर्दा पूजा कोठामा राखेको करिब ९ तोला सुन चोरी भएको थियो । काउछाको परिवार भोजबहादुर बस्नेतको साढे २ तल्ले घरको पहिलो तल्लामा बस्थे । पूजा कोठाको झ्याल खुल्ला छाडेको मौका छोपेर चोरले फलामको ग्रिलबाट अंकुशेले तानेर सुन चोरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले बताए ।

चोरले कोठामा भएको सुन सबै लग्न पाएनन् । पूजा कोठामा चोरले लग्न नपाएका केही सुन भेटिएको छ । करिब ९ तोला सुन अङ्कुसेले तानेर अरू सुन छाडेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

जिल्ला प्रहरी परिसर भक्तपुर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान गरिरहेका छन् । तर, अहिलेसम्म चोरीमा संलग्न आरोपीको क्लु फेला नपरेको डीएसपी नेउपानेले जनाए । उनले भनेका छन् अनुसन्धान गर्दैछौं तर, अहिलेसम्म आरोपीको पहिचान भने खुल्न सकेको छैन ।

सीसीटिभी फुटेजको दृश्यको आधारमा राति ११ बजेर ४० मिनेटमा सुन चोरी भएको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । प्रहरीका अनुसार नेकलेस, औँठी, सुनको चुरा, सुनको मङ्गलसूत्र, ३ तोला २३ लालको रानीहार र सुनको बाला चोरी भएको हो । चोरले १३ लाख ६८ हजारको सुन चोरेको काउछा परिवारले दाबी गरेका छन् ।