रोजगारीमा विदेश गएका चार सय ७७ जना फर्किए बाकसमा


काठमाडौं– पछिल्लो समयमा नेपालको अवस्था हेर्ने हो भने यहाँको अर्थतन्त्र रेमिटेन्सबाट चलेको छ । रोजगारी र अवसरको खोजीका लागि विदेश पुगेका नेपालीले विदेशमा कमाएर पठाएको रकमबाट देश चलिरहेको छ ।

त्यसैले हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिनेहरुको लामो लाम लाग्नेगर्छ । चालु आव २०८१÷८२ को चार महिनामा दुई लाख ४२ हजार ५८३ युवा वैदेशिक रोजगारीमा गएका छन् । यहि समयमा करिब छ खर्ब रेमिटेन्स भित्रिएको छ ।

तर युवाहरु प्लेनमा चढेर विदेशमात्र पुग्दैनन् । विदेशी भूमीमा ज्यान गुमाएर बन्द बाकसमा फर्किने पनि उत्तिकै बढीरहेका छन् । पछिल्लो चार महिनाको अवस्थालाई नै हेर्ने हो भनेपनि यो समयमा ४७७ युवा बाकसमा फर्किएका छन् ।

आर्थिक वर्ष २०८१÷८२ को साउनदेखि कात्तिकसम्ममा विदेशमा रोजगारीका क्रममा ज्यान गुमाएपछि ४७७ जनाको परिवारले वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिएका हुन् । विदेशमा ज्यान गुमाएका तर बोर्डसँग आर्थिक सहायता लिन नपाएकाहरु पनि धेरै रहेकाले यसको सङ्ख्या अझै धेरै रहेको छ ।

बोर्डका अनुसार यस अवधिमा बोर्डको कल्याणकारी कोषको १८ करोड १५ लाख रुपियाँ मृतक श्रमिकका परिवारका सदस्यले आर्थिक सहायता लिएका छन् । तथ्याङ्क अनुसार दैनिक औसतमा चार वटा शव काठको बन्द बाकस विदेशबाट त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन् ।

पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिकको मृत्यु हुने गरेको बोर्डको ठहर छ ।

बोर्डले श्रम स्वीकृति लिएर गएका नेपाली श्रमिकको मृत्यु भएमा यसअघि सात लाख रुपियाँ आर्थिक सहायता दिँदै आएकोमा हाल वृद्धि गरेर १० लाख पुर्‍याएको छ । यसै गरी यो अवधिमा रोजगारीका क्रममा विदेशमा विभिन्न कारणले अङ्गभङ्ग भएका १७४ श्रमिकले पाँच करोड ६३ लाख रुपियाँ आर्थिक सहायता पाएको बोर्डले जनाएको छ । यस्तै यत आजमा वैदेशिक रोजगारीको सिलसिलामा ४१ महिलासहित एक हजार ३४६ नेपाली श्रमिकको मृत्यु भएको थियो ।