काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पर्सामा बयान लिने काम चलिरहेको छ । पोखराबाट काठमाडौं हुँदै सोमबार पर्सा पुर्याइएका उनलाई सानो पाइला सहकारीको रकम गोर्खा मिडिया नेटवर्कको अपचलनको विषयमा बयान लिइएको हो ।
कात्तिक २ गते काठमाडौं बनस्थलीस्थित रास्वपा केन्द्रिय कार्यालयबाट पक्राउ परेका लामिछाने ५३ दिनदेखि प्रहरी हिरासतमा रहेका छन् । सुरुमा कास्की जिल्ला अदालतबाट सुर्योदर्शन सहकारीको रकम अपचलको विषयमा अनुसन्धान गर्न पक्राउ पूर्जी जारी भएका लामिछानेलाई अन्य ठाउँबाट पनि क्रमश पक्राउ पूर्जी जारी भएको थियो ।
पोखरापछि रविलाई बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारीको रकम गैरकानुनी रुपमा गोर्खा मिडियामा लगेर खर्च गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ पूर्जी जारी भएको थियो । सोपछि काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी रकम हिनामिना र चितवनको सहारा चिवतन बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको आरोपमा सम्बन्धित जिल्लाबाट पक्राउ पूर्जी जारी भएको थियो ।
रविले पर्सासहित पक्राउ पूर्जी जारी भएका सबै जिल्लामा बयान दिइसकेका छन् । यसैक्रममा रविलाई अदालतले चार दिनको लागि हिरासतमा राख्ने अनुमती दिएको म्याद भोली सक्किँदैछ ।
यसअघि उनलाई आइतबार छैठौँपटक म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । अनुसन्धानका लागि प्रहरीले थप १३ दिन थप्न माग गरेको थियो । तर, जिल्ला अदालतले भने रविलाई चार दिन थप हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद दिएको हो। म्याद थप गर्ने क्रममा लामिछानेको मानव अधिकारको हनन भएको विषयमा उजुरीमा परेको भन्दै यस विषयमा पनि ख्याल गर्न प्रहरीलाई सचेत गराएको थियो ।
सबै जिल्लामा बयान लिइ सक्किएकाले अब उक्त म्याद सक्किएपछि भने हिरासतबाट रवि छुट्ने आँकलन गरिएको छ । यद्यपी रविमाथी संगठीत अपराध मुद्दामा अनुसन्धान भइरहेको छ । यो कसुरमा प्रहरीले औपचारिक अनुसन्धान शुरू गरेको ६० दिनभित्र अदालतमा अभियोग–पत्र (मुद्दा) दायर गरिसक्नुपर्ने कानूनी व्यवस्था छ। अर्थात् ६० दिनभन्दा बढी समय हिरासतमा राख्न पाईँदैन ।
एउटै कसुरमा अनुसन्धानमा रहेका गोर्खा मिडियाका अर्का सञ्चालक छविलाल जोशी असोज ६ गते पक्राउ परेका थिए । रविको त्यसभन्दा २४ दिनपछि पक्राउ परेपनि उनको पनि असोज ६ देखिको समयनै गणना गरिएको छ। त्यसअनुसार रविलाई संगठीत अपराध मुद्दामा हिरासतमा राख्नमिल्ने समय सक्किएको छ । तर अनुसन्धानकै बीचमा लामिछानेलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको थियो । सोपछि प्रहरीले थप ३० दिन गरेर कुल ९० दिनसम्म समय पाएको थियो । सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ मा भएको पछिल्लो संशोधनले यो कसुरमा अनुसन्धान सकेर ९० दिनभित्र अदालतमा मुद्दा दायर गर्नुपर्ने व्यवस्था गरेको छ।
त्यसैले प्रहरीसंगठीत अपराध मुद्दामाले थप अनुसन्धानका लागि समय माग गरेमा अदालतले रविलाई हिरासतमा राख्न थप म्याद दिन सक्नेछ । रविमाथी पाँच जिल्लाबाट संगठित अपराध कसुरमा मुद्दा लगाइएको छ । ती जिल्लाहरुबाट समेत रविलाई हिरासतमा लिनसक्ने भएकाले उनको हिरासत थप लम्बिने हो की भन्ने चिन्तासमेत धेरैले व्यक्त गरेका छन् ।
तर एकै किसिमको अपराधको कसुरमा अनुसन्धान भइरहेकाले सबै जिल्लाबाट निर्धारित ९० दिनभित्र नै रविको अनुसन्धान सिध्याएर प्रहरीले अभियोगपत्र दायर गरिसक्नुपर्ने प्रावधान सर्वोच्चले नजीर निकालेको कानुनका जानकारहरु बताउँछन् । त्यसैले अदालतबाट थप म्याद दिएपनि उनी अब ११ दिनमात्र हिरासतमा रहनेछन् ।
प्रतिक्रिया