बलत्कारको प्रतिकार गर्दा जंगलमा घास काट्न गएकी १८ बर्षिय सूचिनाको हत्या, घरको दराजमा भेटियो अपराधीको नोट


गोरखा– १५ मंसिरमा घाँस काट्न भन्दै जङ्गल गएकी गोरखाको बारपाककी १८ वर्षीय सूचिना घले बेपत्ता भइन् । मैखर्क जंगल तर्फ उनी नफर्किएपछि त्यही दिनबाट नै परिवारले खोज्न थाले । आफूहरुले खोज्दा कतै नभेट्टाएपछि प्रहरीलाई पनि खबर गरे ।

लगातार तीन दिनको खोजीपछि १८ मंसिरमा खाल्डोमा पुरिएको अवस्थामा उनको शव फेला परिन् । स्थानीय जनप्रतिनिधि, माइती पक्ष लगायतको उपस्थितिमा शव प्रहरीले उनको शव उत्खनन् गर्यो ।

शव निल्दा सूचिनाको टाउकोमा धारिलो हतियारले काटेको चोट देखियो भने दाँया हातको दुईवटा औंला काटिएका थिए । शव गाडिएको ठाउँ नजिकै सुचिनाको चप्पल, हँसिया र डोको फेला पर्‍यो ।

अनुसन्धानको क्रममा शव गाडिएको स्थानदेखि करिब ३० मिटर पर अर्को डोको भेटियो । डोकोभित्र घाँस र रातो उनीको टोपी थियो । करिब एक सय मिटर तल निगालाको बोटमा केही रगत देखिए । नजिकै कम्ब्याट क्याप, लेबन्टि र कपालको गुजुल्टो पनि भेटिए । त्यसपछि शव पोस्टमार्टमका लागि पठाइयो ।

प्रहरीले अनुसन्धानका लागि घाँस काट्न जाने मानिस, उक्त जंगल वरपरका भेडीगोठालाहरू गरेर ५० बढी मान्छेहरूसँग सोधपुछ गर्यो ।

त्यही क्रममा २२ मंसिरमा मन शम्जेर नामका सुचिनाको छिमेकीसँग सोधपुछ भयो । उनको हातमा चोटपटक थियो । त्यसैले एकपटकको सोधपुछपछि पनि उनलाई निगरानीमै राखेर तारेखमा छाडेको प्रहरीले जनाएको छ ।
यस्तै मंसिर २४ मा भने बयान लिने क्रममा उनले सुचिनाको हत्या आफूले गरेको स्विकार गर्ेका छन् ।

प्रहरीमा दिएको बयान अनुसार उनी पनि त्यो दिन घाँस काट्न सोही जंगलतर्फ गएका थिए । उनले सूचिनालाई बलात्कारको प्रयास गरेको स्विकार गरेका छन् ।

धार्चे गाउँपालिका–६ काशिगाउँकी सूचिनाले गत वैशाखमा मात्र बारपाकका धनबहादुर गुरुङसँग विवाह गरेकी थिइन् । विवाहपछि काठमाडौं बस्दै आएका उनीहरू तीन महिना अघिमात्रै गाउँ फर्किएका थिए । ४३ वर्षीय गुरुङ पनि सोही गाउँको भएपनि उनीहरुबिच खासै चिनजान नभएको पाइएको छ ।

प्रहरी अनुसन्धानका अनुसार सूचिना १५ मंसिरमा मैखर्क जंगलतर्फ गएकी थिइन् ।

बलात्कार गर्न खोज्दा सूचिनाले प्रतिकार गर्न थालेपछि मुखमा घाँस, गोबर र माटो कोचेर हत्या गरेको उनले प्रहरीलाई बयान दिएका छन् । हत्यावपछ करिब ५० मिटर माथि खाडल खनेर उक्त शव उनले गाडिदिए । उनले मृतककै ज्याकेट र नाम्लोको साहरा लिएर शव खाडलसम्म पुर्‍याएका थिए ।

उनले आफूले सूचिनाको हत्यापछि अपाधर स्विकारेर नोट लेख्दै घरको दराजमा पनि राखेको बताएका थिए । सोपछि उनको घर खानतलासी गर्दा उनको कोठाको दराजमा ‘मेरो बयान’ शीर्षकमा लेखिएको पत्र भेटिएको प्रहरीले मंगलबार उनलाई सार्वजनिक गर्दै जानकारी दिएको छ।

‘आफूबाट कुनै निर्दोष नारीको ज्यान गयो’ भन्दै उनले लेखेको पत्रमा उनले आफ्नो नाम लेखेर हस्ताक्षर र औंठा छाप समेत लगाएको भेटिएको प्रहरीले बताएको छ । उक्त घटनापछि मन शम्जेरले दुई पटक आत्महत्याको प्रयास समेत खुल्न आएको प्रहरीले जनाएको छ ।

हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने भनेपछि सूचिनाको शवको हालसम्म अन्येष्टी भएको छैन । उनको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।