श्रीमतीले झुटा मुद्दा लगाएर टर्चर दिएको भन्दै अतुलले गरे आत्महत्या


काठमाडौं– भारतका एक युवकले श्रीमतीले झुटा मुद्दा लगाएर मर्न बाध्य बनाएको भन्दै आत्महत्या गरेका छन् ।

बेंगलुरुमा पेसाले एआई इन्जिनियर रहेका ३४ वर्षीय अतुल सुभाषले सोमबार आत्महत्या गरेका हुन् । उनले एक घण्टा २० मिनेट लामो भिडियो र २४ पृष्ठको ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार अतुलले मृत्युका लागि श्रीमती निकिता सिंघानियाका साथै, सासु, सालो र काका ससुरालाई जिम्मेवार ठहर गरेका छन् ।

अतुलको शव बेंगलुरुको मन्जुनाथ लेआउटमा रहेको उनको फ्ल्याटमा भेटिएको थियो । छिमेकीले घरको ढोका तोड्दा उनको शव झुन्डिएको अवस्थामा फेला परेको थियो । कोठामा ‘जस्टिस इज ड्यू’ लेखिएको प्लेकार्ड भेटिएको थियो । अतुलका परिवारको उजुरीका आधारमा प्रहरीले अतुलकी श्रीमती र श्रीमतीका परिवारविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेको छ ।
अतुलले २४ पृष्ठको पत्रमा राष्ट्रपति द्रौपदी मुर्मुलाई पत्र पनि लेखेका छन् । यसमा उनले देशको फौजदारी न्याय प्रणालीका कमजोरीबारे लेखेका छन् । उनले पुरुषमाथि झुटा मुद्दा दायर गर्ने प्रवृत्तिको चर्चा गरेका छन् । अर्को नोटमा, उनले लेखेका आफ्नी श्रीमतीले दायर गरेका सबै मुद्दामा आफू निर्दोष रहेको जिकिर गरेका छन् ।

आत्महत्या गर्नुअघि रेकर्ड गरिएको भिडियोमा अतुलले श्रीमतीसँग कसरी भेट भएको थियो र आत्महत्या गर्नुपर्ने बाध्यतासम्ममा पुर्याएको भनेर घटनाको विस्तृत विवरण दिएका छन् । उनले म्याट्रिमोनी साइटमार्फत म्याच भेटेपछि २०१९ मा विवाह गरेको उल्लेख गरेका छन् । अर्को वर्ष छोरा भएको उल्लेख छ ।

आफ्नी श्रीमती र श्रीमतीको परिवारले जहिले पनि आफूसँग पैसा माग्ने गरेको बताएका छन् । उनले श्रीमतीको परिवारलाई आफूले लाखौँ रुपैयाँ दिएको र थप पैसा दिन बन्द गरेपछि श्रीमतीले २०२१ मा छोराको साथ बेंगलुरु छोडेको बताएका छन् ।

अतुलले श्रीमतीले छाडेपछि छोराको हेरचाहका लागि मासिक ४० हजार रुपैयाँ दिने गरेको बताएका छन् । तर अहिले श्रीमतील‍े बच्चा हुर्काउन मासिक चार लाखसम्म माग गरिरहेको र छोरासँग भेट्न र बोल्न पनि नदिएको बताएका छन् ।

श्रीमतीले १० लाख रुपैयाँ दाइजो मागेको आरोप लगाएका कारण बुवाको हृदयघातका कारण मृत्यु भएको अतुलको भनाइ छ ।

यस्तै उनले आफूविरुद्धको मुद्दा मिलाउन श्रीमतीले सुरुमा एक करोड रुपैयाँ मागेकी थिइन् । तर, पछि बढाएर तीन करोड मागिएको उनको दाबी छ । आफूले तीन करोडको मागबारे जौनपुरको पारिवारिक अदालतका न्यायाधीशलाई बताएको तर न्यायाधीशले पनि श्रीमतीलाई नै साथ दिएको उनको भनाइ छ ।

अतुलले आफूले न्यायाधीशसमक्ष देशमा धेरै पुरुषले झुटा मुद्दाका कारण आत्महत्या गरिरहेको तथ्य प्रस्तुत गरेको बताएका छन् । यस्तो भन्दा श्रीमतीले ‘तिमीले पनि किन आत्महत्या नगर्ने ?’ भनेर सोध्दा न्यायाधीश पनि हाँसेको उनको भनाइ छ ।