प्रधानमन्त्री ओलीद्वारा कक्षा तीनसम्म पढेको विद्यालयको भवन उद्घाटन


पाँचथर– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गरेका थिए । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा रहेको उक्त विद्यालयमा निर्माण भएको १८ कोठे भवन आज प्रधानमन्त्री ओलीले रिबन काटेर उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय लगायतसँग अन्तरक्रियासमेत गरेका छन् । प्रधानमन्त्री ओलीले यस विद्यालयमा कक्षा ३ सम्म अध्ययन गरेको विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकीले जानकारी दिए ।

दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको सहयोगमा निर्मित उक्त भवनको हालै निर्माण सम्पन्न भएको हो । भवन निर्माणमा उक्त फाउण्डेसनले ४ करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारले २१ लाख ४० हजार रुपैयाँ र आठराई गाउँपालिकाले ६९ लाख रुपैयाँ लगानी गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम घिमिरेका अनुसार पुरानो भवनमा पठनपाठन गर्न समस्या भएपछि प्रधानमन्त्री ओलीलाई विद्यालयले बजेटको पहल गरिदिन आग्रह गरिएको थियो ।

प्रधानमन्त्री ओलीकै आग्रहका फाउन्डेसनले लगानी गरेको उनले बताएका छन् ।