काठमाडौं– काठमाडौंको कमलादीमा भासिएर अवरुद्ध रहेको सडक चार महिनापछि सञ्चालनमा आएको छ।
भासिएर क्षतिग्रस्त बनेको टुकुचा खोलाको एघार मिटर लामो कलभर्टको निर्माण भएसँगै सडक सञ्चालनमा आएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कलभर्टको आज शुभारम्भ गरेका छन् ।
काठमाडौंको व्यस्त क्षेत्र कमलादीको उक्त कलभर्ट गत साउन २३ गते रातिको बाढीले क्षतिग्रस्त बनेको थियो। सोपछि प्राविधिक तथा विज्ञहरूले क्षतिग्रस्त कलभर्ट रहेको खण्डमा यातायात सञ्चालनमा रोक लगाउँदै पुननिर्माण गर्न सुझाव दिएका थिए ।
त्यसपछि सडक डिभिजन कार्यालय काठमाडौले असोजमा ठेक्का दिएका काम सुरु गर्न लागेको थियो । तर ठेक्कालगत्तैको अविरल वर्षा र बाढीले पुनः काममा अवरोध गरेको थियो। त्यसपछि मंसिर १७ गते सम्पन्न गर्ने गरी कात्तिक ३ गतेबाट निर्माण शुरू गरिएको सडक आजबाट सञ्चालनमा आएको हो ।
राणाकालमा निर्मित उक्त कलभर्ट पुरातात्विक महत्वको हुनसक्ने जनाउँदै पुरातत्व विभागले चासो देखाएको थियो। यसका कारण विभागसँग सहमति लिएर काम सुरु गर्दा केही समय लागेको विभागले जनाएको छ ।
प्रतिक्रिया