‘जी फाइब’मा ‘ह्रस्व दीर्घ’, नेपाली फिल्मको नयाँ यात्रा



दक्षिण भारतका चर्चित कलाकारहरुलाई अनुवन्धित गरेर निर्मात्री तथा नायिका नीता ढुंगानाले नयाँ बाटो कोरिन् । दक्षिण भारतबाट प्राविधिकहरुमात्र नेपाल भित्रिरहेको अवस्थामा, नीताले नाम चलेका कलाकारहरुलाई फिल्म ‘ह्रस्व दीर्घ’मा अनुवन्धित गरेकी थिइन् ।

अब, यो फिल्मको ओटीटी र टेलिभिजन अधिकार भारतको चर्चित कम्पनी ‘जी फाइब’ले खरिद गरेको छ । नेपाली बक्स अफिसमा १० करोड माथिको ग्रस कलेक्शन गरेको यो फिल्मको ओटीटी ‘जी फाइब’ले महंगो रकममा खरिद गरेको हो । नीता आफैले ३ करोड भारतीय रुपैयाँमा फाइनल भएको चर्चा गर्दै आएकी थिइन् ।

यो संझौताका लागि भने निर्देशक चन्द्र पन्तको ठूलो हात छ । उनी, फिल्मलाई भारतको ओटीटीमा बेच्नका लागि निकै दौडधुप गरिरहेका थिए । चन्द्र अहिले यो सफलता मिलेकोमा खुशी छन् । उनले, अन्य नेपाली फिल्मका लागि पनि आफू सहयोग गर्न तयार रहेको बताउँछन् ।

यो फिल्मको नेपाली र दक्षिण भारतीय भाषा बाहेकको भाषामा ओटीटी राइट्स विक्री गरिएको हो ।

चन्द्र पन्तको निर्देशनमा तयार भएको यो फिल्ममा दक्षिण भारतीय कलाकारहरु प्रदीप राउत, ब्रम्हानन्दम, अली, सुनिल वर्मा लगायतका कलाकारहरुको अभिनय छ ।