इनारमा खसेका युवकले गुहार माग्न थाले, भुत सोचेर छेउछाउ पनि परेनन् गाउँले


काठमाडौं– गाउँलेहरुले भूत चिच्याएको सोचेर छेउछाउमा जान डराउँदा चीनमा एक युवक इनारमा खसेको तीन दिनसम्म अड्किएका छन् ।

लिउ छुयानी नाम गरेका २२ वर्षीया चिनियाँ युवक किन थाइल्याण्ड र म्यानमारको सीमामा रहेको जंगलमा ट्रेकिङका लागि गएका थिए । त्यहाँ उनी १२ मिटर गहिरो इनारमा खसेका थिए ।

युवक इनारमा खसेपछि मद्दतका लागि गुहार्दै चिच्याउन थाले । तर उनको सहायताका लागि कोही पनि आएनन् । जङगल बीचको इनारमा खसेको आवाज कतिले त सुनेनन् तर, जसले सुने उनीहरूले पनि यसलाई भूतको आवाज हो भनेर ठाने । मानिसहरू इनारको नजिक जानुको साटो डराएर झनै टाढा भागे ।

तीन दिनसम्म ती युवक बिना खाना, पानी उक्त इनारमा फसेर बसे । सुरु सुरुमा धेरै चिच्याउँदा पनि कसैले नसुनेपछि युवकले आफूलाई लामो समयसम्म होशमा राख्न एक एक घण्टाको फरकमा चिच्याउँदै गुहार माग्न थाले ।

उनले तीन दिन तीन रातसम्म इनारमा कटाइसकेपछि बल्ल प्रहरी त्यहाँ पुग्यो । किनभने उनले चिच्याएको आवाज सुन्नेमध्येबाट कोहीले जंगलबाट अनौठो आवाज आइरहेको भन्दै प्रहरीलाई सूचना दिएका थिए । प्रहरीले यसबारे अनुसन्धान गर्दै जाँदा इनारसम्म पुगेर उनको उद्धार गरेका थिए । उनलाई उद्धार गर्न करिब ३० मिनेट लागेको थियो ।

इनारमा खस्दा उनलाई गम्भीर चोट लागेको छ । उनको हात भाँचिनुका साथै मस्तिष्कमा पनि कनकसन भएको बताइएको छ । लिउ ट्रेकिङमा जाँदा त्यहाँ फसेको अनुमान गरिएको छ । तर उनी किन यति टाढा पुगे भन्ने कुराको वास्तविकता भने युवकलाई सोधेपछि नै थाहा हुने अनुसन्धान अधिकारीले बताएका छन् । प्रहरीले हाल उनी अस्पतालमा उपचाररत रहेको र डिस्चार्ज हुने बित्तिकै यसबारे सोधपुछ गरिने बताएको छ ।