काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको अर्थतन्त्र दुई दर्जन विचौलियाहरुको हातमा रहेको बताएका छन् । धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका–८ बिधाङस्थित कालिका माध्यामिक विद्यालयको एकीकृत छात्रावास उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको राजनीति जनताको हातमा आएपनि अर्थतन्त्र अझै जनताको हातमा आउन नसकेको बताएका हुन् ।
‘नेपालको अर्थतन्त्र अहिले बढीमा दुई दर्जन बिचौलियाको हातमा छ । नेपाली जनताको हातमा अझैं छैन । राजनीति त अलीअली जनताको हातमा आयो । अर्थतन्त्र जनताको हातमा आएको छैन । त्यसकारण यसमा पनि केही प्रयासहरु भएका थिए । त्यो सह्य भएन,’ उनले भने ।
साथै, आफूले विश्वविद्यालयको नियुक्तिमा लागू गरेको मेरिटोक्रेशी वर्तमान सरकारलाई घाँडो भएको उनले बताए । कांग्रेस–एमालेलाई विश्वविद्यालयमा राम्रो भन्दा पनि आफ्नो मान्छे चाहिएको प्रचण्डले बताए । ‘आफ्नो मान्छे पार्नका लागि अहिले सरकारबाट भिसीहरुलाई दवाब गइरहेको छ । अस्तीमात्रै मैले केही भिसीहरुलाई भेटेर खुट्टा नकमाउनुस् भनेको छु,’ प्रचण्डले भने ।
प्रतिक्रिया