नायिका आँचल शर्मा काठमाडौंमा आयोजना भएको एक फेसन शोमा आकर्षक पहिरनमा उपस्थित भइन् । ‘ग्ल्याम नेपाल इन्टरनेशनल’को चौथो संस्करणमा आँचल सबैको नजरमा परिन् । कालो रंगको पहिरनमा उपस्थित भएकी आँचलको स्टाइल, हिडाई र पहिरनले दर्शकको मन जित्यो ।
फेसन शो पश्चात मिडियासँग कुराकानी गरेकी आँचलले आफ्नो योजना, वर्तमान अवस्थाको बारेमा खुलेरै बोलिन् ।
आँचललाई पत्रकारले प्रश्न सोधे–‘के तपाई पनि फिल्म बनाउने तयारीमा हुनुहुन्छ ?’ आँचलले जवाफ दिइन्–‘तत्काल योजना छैन । तर, नायिकाहरुले फिल्म बनाइराख्नु भएको छ । स्वस्तिमा खड्का, केकी अधिकारी सफल हुनुभयो । यसैले, बनाउनुपर्छ कि भन्ने लागेको हो ।’
आँचललाई फेरि पत्रकारले प्रश्न गरे–‘पहिले बच्चा कि फिल्म ?’ यसमा आँचलको जवाफ थियो–‘पहिले त फिल्म’ ।
आँचलले फिल्म ‘जेरीः अन टप’मा पनि काम गरिरहेकी छिन् । यो फिल्ममा काम गर्दा निकै रमाइलो भएको आँचलको भनाई छ । उनले, फिल्मका मुख्य नायक अनमोल केसीको पनि खुलेरै तारिफ गरिन् । अनमोल कामलाई निक्कै गहिराईमा पुगेर गर्ने कलाकार भएको आँचलको भनाई छ । आँचलका अनुसार, उनको पाइपलाइनमा अझै केही फिल्म छन् ।
एक अवार्ड समारोहका लागि अमेरिका जान लागेकी आँचल फिल्म क्षेत्रको चहलपहल देखेर उत्साहि रहेको बताउँछिन् ।
प्रतिक्रिया