काम गर्दा दिक्क भएपछि कर्मचारीले काटे आफ्नै हातको औँला


काठमाडौं– सँधै एउटै काम गरिरहँदा मानिसहरु कहिलेकाँही दिक्क हुन्छन् । कतिपयले आफ्नो काम समय समयमा बदलिरहन्छन् भने कतिपयले मन नलागि नलागि पनि एकै ठाउँमा जागिर खान्छन् ।

तर भारतको गुजरातको सुरत सहरका एक युवकले भने आफ्नो कामबाट दिक्क भएर हातको औँला नै काटिदिएका छन् ।

गहना बनाउने कम्पनीमा कम्प्युटर अपरेटरको काम गर्ने ३२ वर्षीय मेयुर तारापराले आफ्नै बायाँ हातका चार ओटा औंला काटिदिएका हुन् । उनको औँला काटिएको विषयमा प्रहरीले अनुसन्धान गर्दा सुरुमा त उनले वेदान्त सर्कल नजिकै पिसाब फेर्ने क्रममा बेहोस भएको र होसमा आएपछि आफ्ना हातका औंला नरहेको पाएको बताएका थिए

उनले प्रहरीसँग बयानमा भने, ‘८ डिसेम्बरमा मोटरसाइकलमा साथीको घर गइरहेको थिएँ । त्यही बेला वेदान्ता सर्कल नजिकको रिङ रोड पुगेपछि टाउको दुख्न थाल्यो र चक्कर लाग्यो । त्यसपछि अचेत भई ढलेँ । त्यसको १० मिनेटपछि होस खुल्यो । होसमा आउँदा हातका औंला काटिएको थाहा पाएँ ।’ उनले प्रहरीलाई कसैले आफ्नो औंला कालो जादुका लागि काटेको हुनसक्ने बताएका थिए ।

तर उनको यस्तो बयानमा प्रहरीले विश्वास गरेन । कनभने मोबाइल, मोटरसाइकल र नगद सुरक्षित थिए भने काटिएका औँला कहीँ भेटिएका थिएनन् । घटनास्थलमा कुनै प्रमाण फेला परेन ।

त्यपछि प्रहरीले मेयुरको गतिविधि, सीसीटीभी फुटेज र फोन कल रेकर्डका आधारमा मेयुर आफैँले औँला काटेको प्रमाण पेश गरे । लगत्तै मेयुरले अत्यधिक कामको दबाब र परिवारको दायित्वले जागिर छोड्न नसकेको झोकमा आफ्नै औँला काटेको बताए ।

मेयुर आफ्ना आफन्तको एक गहना कम्पनीमा काम गर्थे । उनी त्यहाँ लेखा विभागमा कम्प्युटर अपरेटरको भूमिका निर्वाह गर्दै आएका थिए । उनी सो कम्पनीमा काम गर्न चाहिरहेका थिएनन् तर काम गर्दिनँ भनेर सुनाउन सकेका थिएनन् ।

त्यसैले उनी आफूलाई कम्पनीका लागि अयोग्य बनाउनतर्फ लागे । र, आफ्नो औंला काट्ने योजना बनाए । “मेयुरले एक पसलबाट धारिलो चक्कु किनेर चार दिनपछि आइतबार राति अमरोली रिङ रोडमा मोटरसाइकल रोकेर राति १० बजे आफ्नो चार औंला काटेका थिए,” प्रहरी अधिकारीले भनेका छन्, “रक्तस्राव रोक्न उनले कुहिनो नजिक डोरी बाँधेका थिए । त्यसपछि चक्कु र औंलाहरू झोलामा राखेर फालेका थिए ।” उनका साथीहरूले मेयुरलाई अस्पताल पुर्‍याएका थिए ।

उनले प्रहरीलाई आफूले काटेको औँला फालेको स्थान पनि देखाएका छन् । उक्त स्थानमा बरामद भएको झोलाबाट तीन ओटा औंला र अर्को झोलाबाट चक्कु बरामद गरिएको अधिकारीले जनाएका छन् ।

यस घटनामा थप अनुसन्धान भइरहेको अमरोली प्रहरीले जनाएको छ ।