काठमाडौं– पानी हाम्रो शरिरको लागि सबैभन्दा आवश्यक पर्ने पदार्थ हो । प्राकृतिक रुपले पाइने पानी खोला, कुवामा गयो भने सित्तैमा प्रयोग गर्न पाइन्छ तर शहरमा भने जार र बोतलमा किनेर पनि प्रयोग गरिन्छ । तर जापानको एक कम्पनीले भने सबैलाई नभई नहुने पानीलाई पनि विलासी वस्तुको रुपमा बेच्दै आएको छ ।
सन् २००५ मा लन्च भएको फिलिको वाटरले एक लिटर पानीलाई नै लाखौं रुपैयाँमा बिक्री गराउँदै आएको हो । यो कम्पनीले सबैभन्दा सस्तोमा एक लिटर पानी १ हजार डलरमा बेचिरहेको छ । यस्तै कम्पनीको लिमिटेड एडिसनका पानी अझै महँगो मूल्यमा बिक्री हुनेगरेको छ । यस्ता पानीको एक लिटरको बोतल नै कम्पनीले १० हजार डलर अर्थात् १३ लाख ५७ हजार नेपाली रुपैयाँमा बेच्ने गरेको छ । कम्पनीले कहिलेकाहीँ १ लाख डलर पर्ने पानीको बोतल पनि ल्याउने गरेको छ ।
फिलिकोले आफ्नो पानीमा कोबे प्रिफेक्चरको रोक्कोउ नेसनल पार्कमा रहेको नुनोबिकी झरनाको पानी प्रयोग गर्छ । यो जापानको औद्योगिक र कृषि क्षेत्रभन्दा निकै पर रहेको छ । यहाँको पानी यसको शुद्धता र उच्च मिनिरलका लागि परिचित छ । झरनाको पानी ज्वालामुखीमा निस्किएका ढुंगाहरूमा फिल्टर भएर आउँछ । त्यसैले पनि यसको स्वाद निकै ताजा छ । पानीको प्राकृतिक स्वादलाई जोगाउन निकै कम मात्रामा यसको प्रोसेसिङ गरिने कम्पनीको दाबी छ ।
यस्तै यो कम्पनीको प्याकेजिङमा प्रयोग भएको सामाग्रीका कारण यसको मूल्य धेरै भएको हो । कम्पनीले पानीको हरेक बोतल हातैले सजाउँछ र बोतललाई सजाउन स्वारोभस्कीको क्रिस्टलको साथमा सुन राखिएको हुन्छ ।
बोतल पानी राख्ने भाँडो मात्रै नभएर यसले को मान्छे कति धनि छ भन्ने कुराको पनि प्रतिनिधित्व गर्ने । कम्पनीले सुरुवातमा पानीलाई विलासी वस्तुको रूपमा बेचेको भन्दै कम्पनीले निकै आलोचना खेप्नु परेको थियो । तर अहिले आफ्ना भीआईपी ग्राहकलाई बनाएर कम्पनीले लक्जरी वाटर बेचिरहेको छ ।
हाल संसारका धनाढ्य घरपरिवारमाझ यो लोकप्रिय ब्रान्ड बन्यो । हरेक बोतललाई हातैले सजाइने भएकोले कम्पनीले हरेक महिना ५ हजार बोतल मात्रै पानी उत्पादन गर्ने गरेको छ ।
प्रतिक्रिया