काठमाडौँ- कपिलवस्तुको चन्द्रौटाबाट बर्दिया जाँदै गरेको लु १ ज ४२९८ नम्बरको माइक्रो बिहान ६ बजे दाङको लमही नगरपालिका ९ च्याउखोलास्थित पूर्व पश्चिम राजमार्गमा दुर्घटना भएको छ ।
दुर्घटनामा कपिलवस्तुको शिवराज नगरपालिका – ३ का ४२ वर्षीया त्रिथी थारु र ६० वर्षीया फूलसी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक छविराज रोकायाले जनाए ।
दुर्घटनामा १२ जना घाइते भएका छन् भने उनीहरुको सबैको अवस्था मध्यम रहेको तथा दाङको लमही अस्पतालमा उपचार भइरहेको छ। तीव्र गतिका कारण गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ। यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रोकायाले जानकारी दिएका छन्।
घाइते हुनेमा कपिलवस्तु ३ की ४५ वर्षीया मिथिला थारू, ६५ वर्षीया चेहली थारू, ७७ वर्षीया महंगी थारू, ४० वर्षीया सरिता थारू, ५५ वर्षीय रामपियारी थारू, ४७ वर्षीय रामचन्द्र थारू, ४५ वर्षीय बुद्धि चौधरी, ४५ वर्षीया फुलबजनी चौधरी, ४५ वर्षीया डुड्डी थारू, ३८ वर्षीय बुद्धराम थारू र ३६ वर्षीय सुरेश यादव रहेका छन्।
गाडी चालक कपिलवस्तुको शिवराज नगरपालिका ५का ३२ वर्षीय अशोक कोइराला प्रहरीको नियन्त्रणमा छन् भने चालकसहित गाडीमा कुल १५ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनीहरू सबै बर्दियामा धार्मिक कार्यक्रममा जाँदै थिए।
प्रतिक्रिया