रवि लामिछानेको अनुसन्धानको प्रतिवेदन आज बुझाउने तयारीमा प्रहरी, पुष ५ भित्र अभियोगपत्र दायर गरिसक्ने


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । प्रहरीले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

अनुसन्धान सँगसँगै प्रहरीले प्रतिवेदन पनि तयार गरिरहेको छ । प्रहरीले तयार गरिरहेको रविविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिने अनुसन्धानमा संलग्न स्रोतले बताएको छ ।

उनीविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी तथा किर्ते र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउँदै छ । त्यसपछि उनीविरुद्ध सम्बद्ध कसुरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर हुनेछ ।

संसदीय विशेष छानबिन समितिले सूर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको निष्कर्ष निकालेको छ । सूर्यदर्शन, स्वर्णलक्ष्मी, सहारा र सानोपाइला सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रकम ल्याएर अपचलन गरेको सूर्य थापा नेतृत्वको संसदीय विशेष समितिको छानबिन निष्कर्ष छ। सोही अपचलन प्रकृयामा संलग्न आरोपमा लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्ण गुरुङ पक्राउ परेका हुन् ।

यस प्रकरणमा सबैभन्दा पहिला पूर्वडीआईजी जोशी असोज ६ मा पक्राउ परेका थिए । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा ९० दिनभित्र अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्ने भएकाले पुष ५ भित्र कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गर्नुपर्ने बाध्यकारी कानुनी व्यवस्था छ ।