काठमाडौं– नेतादेखि कर्मचारीसम्म घुसको दलदलमा फसेका छन् भन्दै आम जनताले गाली गरेको हामी सुनिरहेका हुन्छौँ । तर मानिसहरु घुस खानको लागि कुन हदसम्म जान्छन् भन्ने कुरा पछिल्लो घटनाले देखिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन, कार्यालय महोत्तरीमा कार्यरत नायब सुब्बा अशोक कुमार यादवलाई पक्राउ गर्यो । उनले सवारी दुर्घटनामा ज्यान गुमाएको व्यक्तिको परिवारलाई क्षतिपूर्तिवापतको रकम छिटो उपलब्ध गराईदिने भन्दै घुस मागेका थिए ।
सवारी ज्यान कसुर मुद्दामा मृतकका पीडित पक्षले पाउने किरिया खर्च तथा क्षतिपूर्तीको रकम उपलब्ध गराउन सहजीकरण गर्ने भन्दै २० हजार घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताएका छन् ।
उनले महोत्तरी जिल्ला प्रशासनकै मुद्दा फाँटमा कार्यरत अर्का नासु दिनेश प्रसाद साहको मिलेमतोमा घुस लिने काम देखिएको अख्तियारको आरोप छ । सवारी ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदारले पाउनुपर्ने कृया खर्चबापतको रकम उपलब्ध गराउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधा।मा आयोगको कार्यालय, बर्दिबासबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार दुवैविरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार आरोप पत्र दायर भएको छ ।
प्रतिक्रिया